जनकपुरधाम, जेठ २५ गते । लकडाउनका कारण भारतबाट आइरहेको क्रममा धनुषाको जटही नाकामा भोकले मृत्यु भएका विरेन्द्र यादवको परिवारलाई दुई जना आप्रवासी नेपालीले आर्थिक सहयोग गरेको छ ।
विभिन्न संचार माध्यममा भोकले मृत्यु भएका शहीद नगरपालिका ९ निवासी विरेन्द्रको आर्थिक अवस्था कमजोर र ऋणले गर्दा दैनिक जीवन कष्टकर भन्ने समाचार सम्प्रेषण भएपछि अमेरिका बस्दै आएका नेपाली नागरिक भीम कार्की र शंकर पन्तले ले ऋण तिर्न उनका परिवारलाई तीन लाख रुपैया सहयोग गरेका छन ।

विरेन्द्रकी पत्नी सबिता यादवको बैंक खातामा जम्मा गरी भौचर प्रदान गरिएको छ । रकम लिएर काठमाडौं निवासी दामोदर सुवेदी विरेन्द्रको गाउँमै गएर उनका परिवारलाई भौचर दिएका हुन ।
सुवेदीले अमेरिकामा बस्दै आएका प्रवासी नेपाली एकता मन्च अमेरिका (ओभरसिज नेपाली युनिटी फोरम) का संस्थापक एवं वरिष्ठ नेता कार्की र महासचिव पन्तले वीरेन्द्रको परिवारलाई सहयोग गर्ने इच्छा आफू समक्ष राखेको बताए । निरन्तर उहाँहरुसँग सम्पर्कमा रहेको र रकम पठाएपछि बैंकमा जम्मा गरी भौचर बुझाएको संचारकर्मीसँग भने ।
सीमामा भोकै मृत्युवरण गरेका वीरेन्द्रको परिवारमाथि भएको ऋणको बोझ कम गराउने मात्र होइन्, ती दुवैले उनको छोरा छोरीलाई शिक्षामा पनि सहयोग गर्ने भएका छन् । वीरेन्द्रका छोराछोरीको नाममा रु १ लाखको अक्षय कोष खड गरेर शिक्षामा सहयोग गर्ने इच्छा कार्की र पौडेलले व्यक्त गरेको सुवेदीले बताए ।
हुनत यसअघि शहीदनगर नगरपालिकाले काजक्रियाका लागि एक लाख रुपैया सहयोग समेत गरेका छन ।
घर, परिवारलाई पाल्ने र पारिवारिक स्थिति सुधार्ने मनसाय बनाएका वीरेन्द्र त्यसका निम्ति कतार, साउदी अरब र कुवेत पुगे तर राम्रो काम नपाएर उल्टै ४ लाख ऋणमा डुबेपछि भारतको हरियाना गत फागुनमा काम गर्न पुगेका थिए ।
तर एक महिना नबित्दै लकडाउन शुरु भएपछि भोकै बस्न नसकेर घरतिर पैदल यात्रा गरेर आइरहेको क्रममा जेठ १४ गते जटही सीमामा मृत्यु भएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !