जनकपुरधाम,जेठ २२ गते । प्रदेश २ मा प्रदेश सभाका मर्यादापालक सहित ९ सय ६१ जनामा बिहीवारसम्म कोरोना पुष्टि भएको छ ।
बिहीवार मात्रै १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ जना प्रदेश सभाका मर्यादापालक र एकजना प्रदेश राज्यमन्त्रीका सहयोगी रहेका छन ।

प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणमा ५ जना मर्यादापालक र एकजना प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु नेपाल प्रहरीका कर्मचारी रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको प्रजिअ निरौलाले बताए ।
बुधवारदेखि प्रारम्भ भएको प्रदेश सभाको चौथो अधिवेशन बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब संकलन गरिएको थियो । सो स्वाव परिक्षणबाट मर्यादापालकमा समेत कोरोना पुष्टि भएको प्रजित निरौलाले बताए ।
प्रदेशसभाका मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीवारका लागि बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।
समाजिक विकास मन्त्रालयद्वारा बिहीवार सार्वजनिक रिपोर्ट अनुसार प्रदेश २ का सप्तरीमा १२, धनुषामा ६, महोत्तरीमा ३, सर्लाहीमा ३, रौतहटमा ६५, बारामा १२ र पर्सामा एकजना संक्रमित थपिएको छ ।
प्रदेशमा हालसम्म सप्तरीमा ६९, सिरहामा ४७, धनुषामा ८८, महोत्तरीमा ४३, सर्लाहीमा १ सय ४९, रौतहटमा ३ सय ८४, बारामा ६७ र पर्सामा १ सय १५ जना कोरोना संक्रमित भइसकेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !