जनकपुरधाम, जेठ १९ गते । सोमबार बिहान वर्षा, हावाहुरी संगै आएको चट्याङमा परी धनुषा र महोत्तरीमा गरी दुई जनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका ७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको बिहान ९ बजेतिर घाँसदाउरा ल्याउन जंगल गएको बेला चटयांग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिएका छन ।

त्यस्तै भैँसी चराउन गोठालो गएको बेला महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. १ का ५५ वर्षका इन्दल यादवको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्याककृष्ण अधिकारीले जाएको छ ।
हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते भएको छ । सो हावाहुरीमा परी घर भत्किँदा स्थानीय बुधावा सदायको ४५ वर्षीया श्रीमती फुनियाँदेवी, १४ वर्षीया छोरी, ११ र आठ वर्षीय दुई छोरा घाइते भएको वडाध्यक्ष नागेश्वर गोइतले बताएका छन ।
चारैजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ भने ती परिवारलाई तत्काल बस्ने, खाने व्यवस्था मिलाउने कार्य भइरहेको उनले बताए ।
त्यस्तै वर्षासँगै सोमवार नै परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा करिब १० लाखभन्दा बढीको क्षति भएको छ ।
अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाका अनुसार अस्पतालको छतमा रहेको सिसी क्यामेरा र इन्टरनेट वाइफाइको राउटर जल्नाका साथै चार थान कम्प्युटर, इन्भटर तथा एक्सरे मेसिनमा क्षति पुगेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !