जनकपुरधाम, जेठ १९ गते । प्रहरीले प्रदेश २ को राजधानी जनकपुरधामबाट एक युवकलाई हतियार सहित पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका १७ बेलही चोकस्थित तेतरि बजार नजिकैबाट महोत्तरीको लोहारपट्टी नगरपालिका ८ भ्रमपुरा बस्ने २० वर्षीय डिके भनिने अजिजुल राईनलाई हतियार सहित पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जनाएको छ ।

धनुषा प्रहरी र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा खोजतलाश गर्दै जाँदा आइतवार दिउंसो तेतरि बजार नजिकै राईनलाई ज.४ प. ३९३३ नम्बरको मोटरसाइकलमा बसिरहेको अवस्थामा चेकजाँच गर्दा हतियार बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता रामेश्वर कार्कीका अनुसार प्रहरीले उनको साथबाट मोटरसाइकलको सिटमुनि लुकाई राखेको म्यागजीनमा ३ राउण्ड लोड रहेको गोली सहितको अटोमेटिक पेस्ताल, लोडेड म्यागजीन २ थान, चक्कु एकथान र हेलमेट भित्र लुकाई राखिएको २ राउण्ड गोली लोडेड एकथान म्यागजीन बरामद गरेको हो ।
बरामद गरिएका सामाग्री नियन्त्रणमा लिई निज राईनलाई हिरासत राखि अनुसन्धान कार्य जारी रहेको प्रवक्ता कार्कीले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !