जनकपुरधाम, जेठ १८ गते । प्रदेश २ मा कोरोना भाइरस संक्रमित हुनेको संख्या ६ सय ९५ पुगेको छ । सोमवार मात्रै ८२ जनामा कोरोना पुष्टि भएको हो ।
सोमवार समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले गरेका मिडिया ब्रिफिङमा धनुषामा ७ जना, महोत्तरीमा २, रौतहटमा १८ जना, सर्लाहीमा ३८, सिरहामा ५ र सप्तरीमा १२ जना संक्रमित भएको जानकारी दिएका छन ।

धनुषाको धनौजी गाउँपालिका क्वारेन्टाईनमा ४, हंसपुर नगरपालिकाको क्वारेन्टाईनमा २, प्रादेशिक अस्पतालमा गरिएको स्वाव संकलनमा एकजना, महोत्तरीको लोहारपट्टी नगरपालिकाको क्वारेन्टाईनमा २, सिरहाको सिरहा नगरपालिका स्थित क्वारेन्टाईनमा ५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
त्यसैगरी सबभन्दा बढी कोरोना पुष्टि हुने सर्लाही जिल्लाको कविलासी नगरपालिका स्थित अगरर्वा क्वारेन्टाईनमा ९ वर्षिय बालिका र १४ वर्षिय बालक सहित ३६ जना र हरिपुर नगरपालिका स्थित क्वारेन्टाईनमा २ जनामा संक्रमण देखिएको छ । रौतहटको यमुनामाई गाउपाँलिका स्थित क्वारेन्टाईनमा ४, परवा नगरपालिकामा १४ सहित १८ जनामा कोरोना पुष्टि भएको छ भने सप्तरीको राजगढ गाउपालिका स्थित नार्गो माविमा रहेको क्वारेनटाईनमा महिला पुरुष गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
सोमवार कोरोना पुष्टि भएका सबै व्यक्ति भारतको विभिन्न शहरबाट आएको र तिनीहरुको स्वास्थ्य सामान्य रहेको छ भने स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सचिव डा. घिमिरेले बताए ।
यसैबीच सप्तरीको गजेन्द्रनारायण सिंह अंचल अस्पतालमा २४ जना, राजविराज अस्पतालमा ३०, सिरहा अस्पतालमा २५, धनुषाको प्रादेशिक अस्पताल अन्तर्गतको आइसोलेशन कक्षमा २८ र सपहीस्थित सीटीईभीटी पोलिटेक्निक इन्स्टिच्युटमा संचालन आइसोलेशन कक्षमा ३७ जना, महोत्तरीको कोभिड १९ विशेष अस्पतालमा २४, सर्लाहीको मलंगवा स्थित अस्पतालमा ४४ जनाको उपचार भइरहेको जनाइएको छ ।
त्यसैगरी रौतहटको चन्द्रनिगाहपुर स्थित अस्पतालमा ८, गौरमा ३१, राजपुर फरहदवामा ४२, देवाही गोनाहीमा २२, गरुडामा ७४ जना, बाराको कलैयास्थित कोरोना अस्पतालमा ५० र पर्साको नारायणी उपक्षेत्रिय अस्पताल र त्यस अन्तर्गतको गण्डक कोभिड अस्पतालमा २० जनाको उपचार भइरहेको जानकारी दिदैं डा. घिमिरेले सिरहामा ५ र महोत्तरीमा ८ जना गरी कुल १३ जना संकास्पदको आइसोलेशनमा उपचार भइरहेको बताए ।
प्रदेश २ मा हालसम्म प्रादेशिक अस्पताल जनकपुरमा २ र नारायण अस्पतालमा ९७ जना गरी कुल ९९ जना उपचार पश्चात निको भई घर फर्किसकेका छन ।
प्रदेश २ मा हालसम्म सप्तरीमा ५५, सिरहामा ३०, धनुषामा ७७, महोत्तरीमा २९, सर्लाहीमा ११०, रौतहटमा २३४, बारामा ५४ र पर्सामा १०६ जना संक्रमित भएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !