सुभाष कर्ण/ जनकपुरधाम, जेठ १९ गते । वैश्विक महामारीका बेलामा पनि प्रदेश २ सरकारले करोडौ रुपैया भ्रष्टाचार गरेको खुलासा भएको छ ।
कोरोना भाइरस रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री खरीदमा समाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन करोडौ रुपैया भ्रष्टाचार गरेको लोकपुकारले फेला पारेको छ ।

केन्द्रले पीपीई सेट, एन ९५ मास्क, थर्मोमीटर, सेनिटाइजर र सर्जिकल मास्क खरीदमा बजारको खुद्रा दररेट भन्दा ४५ देखि २ सय प्रतिशतभन्दा बढी महँगो दरमा थोक खरीद गरी भ्रष्टाचार गरेको कुरा मन्त्रालयले आफ्नो वेभसाइट जेठ १४ मिति सार्वजनिक गरेको कोभिड १९ मालसमान खरीद विवरणमा देखिएको छ ।
आफूर्ति केन्द्रले बजारमा खुद्रामा पाइने ३ हजार पांच सय पर्ने पिपिई सेट रु ६ हजार ५ सयमा, बढीमा पांच हजार पर्ने आईआर थर्मोमीटर रु ८ हजारमा, रु. ३ सयसम्म पर्ने एन ९५ मास्क ५ सयमा, ७ रुपैया पर्ने सर्जिकल मास्क रु. १६ मा, रु. १ सयदेखि बढीमा अढाईसम्म पाइने हैण्ड सेनिटाइजर ५ सय ९९ रुपैयाको दरले खरेको छ । खुद्रामा पाइने मूल्यभन्दा पनि बढी सामान थोकमा हजारौको संख्यामा खरीद गरेको हो ।
केन्द्रले मन्त्रालयको वेभसाइटमा राखेको विवरण अनुसार केन्द्रले काठमाडौस्थित मेडी सोलुसन इन्टरनेशनल प्रा.लि.बाट साढे ५ हजार पिपिई सेट ४ करोड २२ लाख ५० हजार रुपैया बराबरको, आदित्य इन्टरनेशनल जनकपुरबाट ४ सय पीस थर्मोमीटर ३२ लाख रुपैयामा, राइन सप्लायर्स जनकपुरबाट २१ सय एन ९५ मास्क १० लाख ५ हजार रुपैयामा, जेकेआरएस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. बाट ९० हजार पीस सर्जिकल मास्क १४ लाख ४० हजार रुपैयामा र दुर्गा ट्रेड लिंक जनकपुरबाट एक हजार पीस सेनिटाइजर पांच लाख ९९ हजार रुपैयामा खरीद गरिएको छ ।
केन्द्रले पीपीई सेट खरीद गरेको मेडि सोलुसन इन्टरनेशलन प्रा.लि. को प्रतिनिधिसँग लोकपुकार दररेट सोध्दा रु. १२ सयदेखि बढीमा ३५ सयसम्मको आफू कहाँ पीपीई सेट रहेको बताए । उनले भने थोक लिनु हुन्छ भने मिलाएर भई हाल्छ, उनका अनुसार यो दररेट भन्दा महँगो हाल नेपालकै बजारमा रहेको छैन । सोही पिपिई सेटको जनकपुर बजारमा बढीमा ४५ सय रुपैया पर्ने गरेको छ ।
भ्रष्टाचार कति ?
खुद्रा दररेटको हिसाबले नै हेर्ने हो भने पिपिई र थर्मोमीटर प्रति सेटमा ३ हजार रुपैया, एन ९५ मास्कमा रु. २ सय, सर्जिकल मास्कमा ९ रुपैया र सेनिटाइजरमा ३ सय ४९ रुपैयासम्म प्रतिपिस मंहगो दरमा खरीद गरिएको छ ।
यी सबैको कूल हिसाब गर्दा केन्द्रले ४ करोड ८४ लाख ९४ हजार मूल्य बराबरको सामान खरीद गर्दा आपसी मिलोमतो गरी पिपिई सेटमा एक करोड ९५ लाख, थर्मोमीटरमा १२ लाख, एन ९५ मास्कमा ४ लाख २० हजार, सर्जिकल मास्कमा ८ लाख १० र सेनिटाइजरमा ३ लाख ४४ हजार रुपैया गरी २ करोड २२ लाख ७९ हजार रुपैया भ्रष्टाचार गरेको हो ।
खुद्रा दररेटमा यतिको भ्रष्टाचार भएको छ भने थोक मूल्यले मूल्यांकन गर्दा साढे ३ करोडभन्दा बढी रुपैया आपूर्ति केन्द्रले भ्रष्टाचार गरेको देखिन्छ ।
यस सम्बन्धमा जिज्ञासा राख्दा आपूर्ति केन्द्रका जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले भने प्रक्रिया पुरयाएर प्रतिष्पर्धाको आधारमा खरीद गरिएको हो । जहाँसम्म बढी मूल्यको कुरा हो बजारमा धेरै क्वालिटीका सामान छन हामीले डब्लूएचओले निर्धारण गरेको सामान किनेका छौं ।
बजारमा कम दर रेटमा सामान विक्री भइरहेको पाइएपनि सामान क्वालिटी, भ्याट, ढुवानी लगायतका खर्च समेत जोडेर विभाग र अन्य प्रदेशको दररेट तुलना गरी खरीद गरिएको उनले भने ।
नायकले भ्रष्टाचार भएको अस्वीकार गर्दै भने हामीले मात्रै होइन बागमती, गण्डकी, प्रदेश नं. १ र विभागले किनेको दरभन्दा पनि कममा किनेका छौं ।

नोट : लोकपुकारबाट प्रकाशित खोजमूलक न्यूज चोरी गरी कपी पेष्ट नगर्न संचारमाध्यमहरुलाई अनुरोध छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !