जनकपुरधाम, जेठ ११ गते । कोरोना भाइरस महामारी विरुद्ध जनकपुरधाम उपमहानगरपालिकाको तयारी अपुग देखिएको छ ।
लामो समय पश्चात विभिन्न पक्षको दबावपछि मापदण्ड विपरित भएपनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित गोपाल धर्मशालामा ५० बेडको क्वारेन्टाईन निर्माण गरे । तर हाल शंकास्पदको संख्या बढदै गएपछि व्यवस्थापन गर्न धौ धौ परेको छ ।

गत मंगलबारदेखि गोपाल धर्मशालामा सञ्चालन गरिएको ५० बेडको क्वारेन्टाइनमा एक हप्ता नबित्दै ६९ जना पुगेको छ । मान्छे बढेपछि एउटा बेडमा २ जना गरी राखिएकोले उपमहानगरपालिकाको यस्तो कार्यले संक्रमण झन बढन सक्ने खतरा देखिएको आरोप लाग्न थालेको छ ।
संख्याभन्दा बढी भएपछि शनिवार बेलुका ४ बजेदेखि क्वारेन्टाइनस्थलको बाहिर भोकभोकै कतिपयले बस्नु परेको नेपाल तरुण दलका उपाध्यक्ष राकेश बिक्रम साहले बताएका छन । उनले भने मैले यिनीहरुको व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई जानकारी गराईसकेको छु तर राती ९ बजेसम्म कुनै व्यवस्था मिलाउन थिएन ।
यतिको मान्छे बढछ सोचेका थिएनौ : उपमेयर मिश्र
यता उपमहानगरपालिकाका उपमेयर रीता मिश्रले एउटै बेडमा २÷२ जना व्यक्ति रहेको कुरालाई अस्वीकार गर्दै भनिन संख्या बढेपछि तिनीहरुलाई धर्मशालाको बरामदामा व्यवस्था गरिएको छ ।
समयमा उपमहानगरपालिकाले तयारी गर्न सकेको कुरा स्वीकार गर्दै उनले भनिन जनकपुरमा यतिको शंकास्पद संख्या बढछ भने हामीले सोचेका थिएनौं । तर सीमानाकाबाट आउने क्रम बढन थालेपछि हामी व्यवस्थापनमा जुटेका छौं अझै बढन सक्ने भएको हुनाले विभिन्न वडामा थप क्वारेन्टाईन निर्माण गर्ने विषयमा छलफल जारी रहेको छ ।
संख्या बढदै गएपछि देउपुरा रुपैठामा समेत ४ जनालाई पठाइएको छ भने जानकी नगरस्थित क्वारेन्टाईनमा ९ जनालाई राखिएको जानकारी दिदैं उनले क्वारेन्टाईनमा रहेका सबै उपमहानगरपालिककै नागरिक हुन बताएकी छिन ।
मापदण्ड विपरित उपमहानगरपालिकाको क्वारेन्टाईन
घनावस्तीमा क्वारेन्टाईन निर्माण गर्नु मापदण्ड विपरित रहेको भनी गोपाल धर्मशालामा निर्मित क्वारेन्टाईनको चौतर्फी विरोध हुँदै आएको थियो । हुनत नेपाल सरकारले बनाएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीत नै सो क्वारेन्टाईन रहेको छ ।
मापदण्डमा स्वास्थ्य, संचार, विद्युत, पंखा, शौचालय, वाईफाई, शुद्ध खानेपानी लगायतका व्यवस्थापन हुनुपर्ने भनिएकोमा सो क्वारेन्टाईनमा अधिकांश रुपमा पंखा नै छैनन । लाईन कटेपछि अन्ध्यारोमै बस्नुपर्ने बाध्यता छ । ८ वटा शौचालय रहेकोमा ५० जनाका लागि ४ वटा मात्रै संचालन रहेको छ ।
क्वारेन्टाईनमा बसेकाहरुका नियमित स्वास्थ्य चेकजाँचका लागि एमबीबीएस चिकित्सक, स्वास्थ्यकर्मी र आरडीटीसम्मको चेकजाँचका भित्रै ल्याबको व्यवस्था हुनुपर्नेमा यस्ता कुनै व्यवस्था देखिएको छैन ।
खाजा सहित दैनिक ४ पटक पोषिलो खाना दिनुपर्नेमा त्यहाँ खानाको मात्रै दुई टाईम व्यवस्था रहेको क्वारेन्टाईनमा रहेका एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
सम्बन्धित संस्था सँग कुनै छलफल नै नगरी उपमहागनरपालिकाले बलजफ्ती क्वारेन्टाईन संचालन गरेको आरोप गोपाल धर्मशाला संचालक समितिले आरोप लगाउंदै आएका छन ।
संचालक समिति सदस्य जितेन्द्र प्रसाद साहले कुनैपनि कार्य गर्न सम्बन्धित निकायसँग इजाजत लिनुपर्ने कानून छ, तर उपमहानगरपालिकाले बलजफ्ती इजाजत त के छलफल समेत नगरी क्वारेन्टाईन धर्मशालामा संचालन गरेको आरोप लगाउंदै समाजिक संजालमा खुलेरै नै विरोध गरेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !