विराटनगर, जेठ ४ गते । विराटनगरका एक औषधि व्यावसायी मृत अवस्थामा भेटिएको छ ।
सुनसरी निवासी हाल विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलाल आइतबार बिहान मृत भेटिएका हुन । मृत भेटिएका दुलालको शरीरमा निलडाम देखिएकोले घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मृतकको शरीरमा निलडाम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जनाएको छ । शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको उनले बताए ।
‘शरीरमा निलडाम देखिएकाले अनुसन्धान सुरु गरेका छौं’ उनले भने ‘पोष्टमार्टमपछि थप विषय खुल्ने छ ।
देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका दुलाल शनिबार राति अबेरसम्म विराटनगरका दुईजना साथीसँग बसेका थिए । राति अबेर डेरामा सुतेका उनी विहान अचेत अवस्थामा भेटिएका थिए ।
उनी राति सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएपछि श्रीमतीले आइतबार बिहान करिब ३ बजे कोशी अस्पताल उपचारका लागि ल्याएकी थिइन् ।
मृतक दहालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएपछि प्रहरीले सोधपुछका लागि श्रीमती र शनिबार रातिसँगै बसेका दुईजनालाई नियन्त्रणमा लिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !