जनकपुरधाम, जेठ ४ गते । धनुषाको नगराईन नगरपालिकामा पुष्टि भएका कोरोना संक्रमित चितवनबाट होइन भारतको मुम्बईबाट आएको खुलासा भएको छ ।
शनिबार कोरोना पुष्टि भएका २० र ६५ वर्षीय दुवै पुरुषले क्वारेन्टाईनमा जाँदा आफू केहीदिन अघि चितवनबाट आएको सुरक्षाकर्मीलाई जानकारी दिएका थिए । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोडघास गाउँका बासिन्दा रहेका दुवैजना वैशाख ३० गते मुम्बईबाट घर आएका थिए ।

स्थानीयले थाहा पाएपछि स्थानीय प्रहरीको सहयोगमा दुवैजनालाई धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेनटाइनमा पठाएको क्वारेनटाइनका संयोजक संतोष ठाकुरले जानकारी दिएका छन ।
दुबै जना घर पुगेपछि घर परिवारमा घुलमिल समेत भएका थिए । चितवनको मैदा मिलमा आफूहरु काम गर्दै आएको र त्यहाँबाट पैदल हिडेर पथलैया सम्म आएका थिए भने पछि ट्रकमा चढेर त कहीं फेरि पैदल हिडेर गाउँ सम्म आएको क्वारेन्टाईनमा सुरक्षाकर्मीलाई जानकारी दिई झुक्याउन खोजेका थिए ।
तर, उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमा बाट क्वारेनटाईन सम्म ल्याएको कुरा मोटरसाइकल चालकले नै बताए पछि उनीहरू चितवनबाट नआएर भारतको मुम्बई बाट आएको कुरा खुलेको संयोजक ठाकुरले जानकारी दिएका छन ।
उनीहरु क्वारेनटाइनमा आएकै दिन बैशाख ३० गते स्वाब संकलन गरिएको थियो । शनिबार राति स्वास्थ्य मन्त्रालयले धनुषाका ती २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो । संक्रमितहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोविड अस्पतालमा पठाई सकिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !