काठमाडौ, वैशाख ३१ गते । देशमा कोरोना संक्रमितको संख्या बढदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा निषेध सहितको कडाइ गरेको छ ।

समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले छिर्न नदिन माथिको आदेशको रहेको गेटमा रोकेका छन् । ती सुरक्षाकर्मीले ‘माथि फोन गर्नुस, बोलाएमात्र जान पाउनुहुन्छ’ भन्दै पत्रकारलाई भित्र पस्न दिएन ।

स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन नै दिएका छन ।
अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ ।
उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउनेछन् । मन्त्रालयमा अरु मानिसहरुको आवतजावत नरोकिए पनि पत्रकार भने गेटमै रोकिएका हुन् ।
मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले कोरोना संक्रमण बढ्दै गएकाले भेटघाटमा कडाइ गरिएको बताएका छन । मन्त्रालयले सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्न लागेको बुझिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !