जनकपुरधाम, वैशाख २७ गते । अति उच्च जोखिममा प्रदेश २ रहेको बेला समाचार संकलनका लागि अग्रपंक्तिमा रहेका जनकपुरधामका पत्रकारहरुमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

जनकपुरधाम स्थित बिभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना पत्रकारहरुको गत बुधबार गरिएको स्वाब संकलनमा सबैको रिपोर्ट निगेटिभ आएको छ ।
समाचार संकलनका लागि जोखिको अग्रपंक्तिमा रहेका पत्रकारहरुको संकलन गरिएका स्वाबको पीसीआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको कुरा पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष अवधेश कामतले बताएका छन ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको समन्वयमा श्रीनाथ गण धनुषा महेन्द्रनगरको नेपाली सेनाको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले बुधबार पत्रकारहरुको स्वाव संकलन गरेको थियो ।
लकडाउनको अवधिमा समेत जनतालाई सुसूचित गराउने दायित्व निर्वाह गर्दै निरन्तर कार्यक्षेत्रमा खटिनुपर्ने भएकोले सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सञ्चारकर्मीहरुको थ्रोट र नोजल दुबै विधिबाट स्वाब संकलन गरिएको थियो ।
धनुषा जिल्लामा कुनै संक्रमित नभेटिएपनि सर्लाही, पर्सा र रौतहट सहितका जिल्ला गरी प्रदेश २ मा हालसम्म ३१ जनामा कोरोना संक्रमित फेला परिसकेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !