वीरगञ्ज, वैशाख १८ गते । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १४ मा लकडाउनले मार्कामा परेका विपन्न नागरिकलाई वितरण गर्न लगिएको चामल गुणस्तरहीन पाइएको छ ।
बुधबार वितरणका लागि महानगरपालिकाले न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट ल्याएको ९ सय ५० किलो चामलमध्ये केही बोरा डल्लो परेको भेटिएको बुझिएको छ ।

राहत वितरण गर्न प्याकिङ गर्ने क्रममा चामलको बोरामा डल्ला भेटिएको हो । बिन्दवासिनी ब्राण्डको बोरामा ६ महिनासम्म खान योग्य भनिए पनि उत्पादन मिति उल्लेख थिएन भने तौल पनि कम थियो । ९ सय ५० बोरा चामलमध्ये केही बोरा खोलेर हेर्दा गुणस्तरहीन देखिएको वडा अध्यक्ष भरतप्रसाद कुर्मीले बताएका छन ।
प्याकिङ गराउन खोज्दा नयाँ पुराना चामल मिसिएको, डल्ला परेको चामल देखियो । कतिपय बोरामा उत्पादन मिति पनि थिएन, तौलमा पनि गडबड देखियो’ वडाध्यक्ष कुर्मीले भने ।
महानगरपालिकाले टेण्डर आह्वान गरी राहत वितरणका लागि चामल खरिद गरेको थियो । तर, कुहिएको चामल पठाइएको बारे अनुसन्धान नै नगरी गलती गर्नेलाई उन्मुक्ति दिन खोजिएको आरोप लाग्न थालेको छ ।
वीरगञ्जमा गुणस्तरहीन चामल भेटिएमा अनुसन्धान गर्नुभन्दा त्यो चामल फिर्ता पठाई अर्को ल्याउने गरिएको छ ।

यसअघि पनि एक ट्रक चामल गुणस्तरहीन भएको कारण फिर्ता पठाएको वीरगञ्ज महानगरपालिकाका अधिकारी बताउँछन् ।
राहत वितरणको अनुगमन गर्न वीरगञ्ज महानगरपालिकाले कार्यपालिका सदस्य अरबिन्द गुप्ता, सुशील साह कानु र निरञ्जन सर्राफ रहेको अनुगमन समिति पनि बनाएको छ । अनुगमन समिति सदस्य अरबिन्द गुप्ता वडा नं १४ बाट मात्रै गुनासो आएको बताएका छन । उनले ४ लाख किलो चामल किन्दा १० किलो खराबी देखिनु कुनै ठूलो कुरा नभएको प्रतिक्रिया दिएका छन ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नं १४ मा बुधबार पठाएको ९ सय ५० किलो चामलमध्ये ३ वटा बोराको चामल डल्लो परेको भेटिएको स्वीकार गर्दै ४/५ सय टन किन्दा १० बोरा गुणस्तरहीन देखिनु सामान्य हो तर हामी सही चामल वितरण गर्ने बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !