राजविराज, वैशाख १६ गते । जनकपुरधाम पछि अब सप्तरी जिल्लामा पैसाको नोट छरिएको घटना देखिन थालिएको छ ।
जिल्लाको तिरहुत गाउँपालिका वडा नम्बर ८ गोइठीस्थित वस्तीमा मंगलबार बिहान पैसाको केही नोट छरिएको अवस्थामा फेला परेको हो । सो घटनाले स्थानीय त्रसित भएको छ ।

उक्त ठाउँबाट २ सय ७५ रुपैयाँ छरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन । उनका अनुसार ५, १०, २०, ५० र एकसय रुपैयाँको नोट छरिएको अवस्थामा पाइएको छ ।
सोमबार राति नै वस्तीमा नोट छरिएको देखेपछि स्थानीयले विहान प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी डिमनबाट खटिएको प्रहरी टोलीले उक्त नोट सुरक्षित साथ राखेको बताउँदै नायव उपरीक्षक मिश्रले ती नोटको जाँच गरिने बताए ।
सो नोट बाटोमा कसले फ्यालेको बारे घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । स्थानीयले जमातीहरुले कोरोना भाइरस फैलाउने उद्देश्यले बाटोमा थुक राखि पैसा छरेको हुन सक्ने बताएका छन ।
यसअघि जनकपुरधामको महावीर चौकमा समेत १० रुपैयाको केही नोट सडक र पसलको सटर मुनि फेला परेको थियो । सो घटनामा स्थानीय दुई महिलालाई नियन्त्रणमा समेत लिइएको थियो । उनीहरुको कोरोना भाइरस चेकजाँच गरी रिपोर्ट निगेटिभ आएपछि छाडिएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !