जनकपुरधाम, वैशाख १५ गते । कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनको असर अत्यावश्यक खाद्यान्न सामाग्रीमा परेको छ ।
लकडाउनको अवधि बढदै जाँदा बजारमा खाद्यान्न सामाग्रीको आभाव हुँदा चामल, दाल, तेल, चना, मटर, चिनी लगायतका अत्यावश्यक खाद्यान्नमा व्यापक मूल्यवृद्धि हुन गएको छ ।
अधिकांश खाद्यान्न सामाग्री भारतबाटै आउने गरेको छ कोरोना भाइरस नियन्त्रणका लागि विश्व सहित भारतमा समेत लकडाउन जारी रहेको कारण खाद्यान्न सामाग्रीको आयातमा कमी र समय बढी लाग्ने गरेको कारण मूल्य वृद्धि हुन गएको प्रदेश २ का राजधानी जनकपुरधाम स्थित व्यवसायीहरुको भनाई छ ।

भारतबाट अनुमानित १० ट्रकमा अहिले दैनिक मुश्किले ५÷६ ट्रक माल आउने गरेको छ । चामल गहुँ लगायतका सामाग्री भारतको हरियाना र पंजाब सहितका राज्यबाट आउने गरेको कारण विभिन्न राज्यमा भएर आउँदा ती राज्य र भन्सारमा गाडी रोकेर सामानको चेकजाँच सेनिटाइज्ड गर्दा बढी समय लाग्दा ढुवानी खर्च बढेर जाँदा पनि मूल्यमा वृद्धि भएको जनकपुर स्थित थोक विक्रेता शिवनारायण साहले बताए ।
हाल अहिले जनकपुरधाम बजारमा चामल प्रतिबोरा रू १०० देखि रू ३०० सम्म र गहुँको ५ सय रुपैयासम्म मूल्य बढेको छ । ‘सामान्य मन्सुली चामलमा रु १०० सम्म मूल्य बढेको छ’, उनले भने, ‘वास्मति र हाफ ब्वाइल लगायतका चामलमा रु ३०० सम्म बढेको छ ।
लकडाउनअघि प्रतिकेजी रू १२० मा पाइने मोटा मुसुरो दाल अहिले प्रतिकेजी रू १५० र अरहरको दालमा समेत ३० रुपैयासम्म प्रतिकेजी मूल्य बढेको उनको भनाई छ । लकडाउनका कारण चामल, गहुँ दाल मात्रै होइन चिनी, तेल, साबून सहित स्वदेशी र विदेशी हरेक खाद्यय र दैनिक उपभोग्य सामाग्रीको मूल्य वृद्धि भएको छ ।
‘लकडाउनअघि मशाल तेल २ सय २०, धारा १ सय ८० रुपैया पाउने गथ्र्यो तर अहिले मशाल २ सय ६० र धारा २ सय २० रुपैयासम्म खुद्रा पसलमा पाइने गरेको छ ।
स्वदेशमा निर्मित डिटरजेन्ट पाउडर, चाउचाउको समेत मूल्य अकाशिएको थियो । ३ केजीको डिटरजेन्ट पाउडरको १ सय ५० रुपैया पर्ने गथ्र्यो तर अहिले सो मूल्य १ सय ८० देखि २ सय रुपैयासम्म पुगेको छ । खुद्रामा प्रति केजी ८० रुपैयामा बिक्री हुने चिनी, थोकमा ८० रुपैया पर्ने गरेको कारण व्यवसायीहरुले ९० रुपैया प्रतिकेजीसम्म बेच्ने गरेका छन ।

ज्याकपट चाउचाउ हलसेलमा ३ सय ६० को अहिले ४ सय १० रुपैया लगाउने गरेको छ । खाद्यय र दैनिक उपभोग्य सामाग्रीको थोकमै मूल्य बढेपछि अहिले अधिकांश खुद्रा व्यवसायीले बेच्न छाडेका छन ।

खुद्रा व्यवसायीहरु भन्छन थोक विक्रेता नै माल नआइरहेको भनी बढी मूल्य लिने गरेका छन । बढी मूल्यमा किनेर मूल्य थपेर बेच्दा प्रहरीले कालोबजार गरेको भनी समात्छन के गर्ने यस्तो बेलामा बेच्ने नै छाडेका छौं ।
तरकारी र फलफूलमा समेत मूल्यवृद्धि भएको देखिन्छ । व्यवसायीहरुले भारतबाट तरकारी नआइरहेको र स्थानीय ग्रामीणस्तरबाट नै महँगोमा खरीद गर्नुपरिरहेकोले मूल्यवृद्धि भएको बताउँछन । मांग बढी छ, तर आपूर्ति कम भएको कारण किसानहरुले बढी मूल्य लिइरहेको उनीहरुको भनाई छ ।
खाद्यय र दैनिक उपभोग्य सामाग्रीको मूल्यवृद्धि हुँदा अनुगमन गर्ने निकाय समेत यसप्रति कुनै चासो नलिई आफै राहत वितरण र आफ्नो प्रयोगका लागि चर्को मूल्यमा किन्ने गरेका छन । सम्बन्धित निकायले के कति कारणले मूल्य वृद्धि भएको बारे अनुगमन नगर्दा यस्तो अवस्था विद्यमान रहेको छ, यही अवस्था कायम रहयो भने भोकमरी हुने निश्चित नै छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !