जनकपुरधाम, वैशाख १५ गते । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जारी लकडाउनमा काठ तस्करीको क्रम बढेको छ ।
पछिल्लो पटक महोत्तरी स्थित तीन कोसे जंगलबाट रुख काटदै गरेको अवस्थामा जिल्लाका बर्दिबास नगरपालिका अन्तर्गत पर्ने माइस्थान चेरुका ४५ वर्षीय झोकिलाल लामालाई पक्राउ गरिएको वन डिभिजन तीनकोसेका प्रमुख हेमन्त साहले जानकारी दिएका छन ।

तिनेकोसे झाडीअन्तर्गत पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काट्दै गरेका लामालाई सहायक वन अधिकृत ओमविक्रम खड्काको नेतृत्वमा खटिएको सशस्त्र वन सुरक्षाकर्मी सहितको टोलीले सोमवार नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका लामालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरासतमा राखी वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रमुख साहले बताए ।
महोत्तरी जिल्ला मात्र होइन सर्लाही जिल्लामा समेत लकडाउन अवधिमा काठको तस्करी तिव्र रुपमा बढेको छ । जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ ।
वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर परियोजना छोडेपछि परियोजना प्रमुखविहीन बनेको छ । परियोजना प्रमुख नभएको मौका छोपेर वन तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रुख कटान भइरहेको वन विकासकै कर्मचारीले जनाएका छन् ।

नयाँ रुख कटानका साथै गोदाममा काटेर राखेको एक लाख घनफिट काठ चोरी भइसकेको एक कर्मचारीले बताए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना भाइरस नियन्त्रणमा लागिरहेको समयमा तस्कर चोरी शिकारमा लागिपरेको भन्दै तस्कर नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिने बताए ।
छिमेकी जिल्ला सिन्धुलीबाट समेत तस्करले चोरी गरेका काठ तथा वनजन्य पदार्थ सर्लाहीको लालबन्दी, हरिवन, वाग्मती तथा फुलजोरको भित्री बाटो जिल्लाका विभिन्न स्थानका काठ चिरान मिलका साथै छिमेकी देश भारतका विभिन्न बजारमा समेत पु¥याउने गरेको बुझिएको छ ।
लकडाउन को समयमा वन कर्मचारीको वन गस्ती कम हुने र मानिसको समेत आवतजावत कम हुने गरेका कारण पनि वन तस्कर थप सक्रिय भएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !