काठमाडौ, वैशाख १४ गते । सांसद डा. सुरेन्द्र यादवको अपहरण घटना बारे महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्दा दर्ता गर्न मानेको छैन ।

नवगठित जनता समाजवादी पार्टीका नेताहरु आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै उनी संगै प्रहरी परिसरमा सांसद महेश बस्नेत, कृष्ण (किसान ) श्रेष्ठ र पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिएर पुगेका थिए तर प्रहरीले यो मुद्दा महोत्तरी जिल्लामा गएर दर्ता गर्नुस भनी दर्ता गर्न मानेन ।
मुद्दा दर्ताका लागि समाजवादी जनता पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसमेत प्रहरी कार्यालयमा पुगेका हुन । डीएसपी कृष्ण चन्दले शुरुमा एसपी छैन भनेर आनाकानी गरेका थिए पछि यहाँ दर्ता मिल्दैन, महोत्तरी जानोस् भनेर जवाफ दिएको जसपाका एक नेताले बताएका छन ।
केही बेरपछि एसएसपी श्यामलाल ज्ञवाली कहाँ पुग्दा उनले पनि मुद्दा दर्ता गर्नबाट अस्वीकार गरेको जसपा श्रोतले जनाएको छ । उनले भने प्रहरी संगठनमा अहिलेपनि खनालको हैकमवादी हावी नै छ, खनाल विरुद्ध उजुरी रहेको कारण प्रहरीले दर्ता गर्नबाट अस्वीकार गरेको हो ।

नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले गत मंगलबार जनकपुरबाट समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई जबरजस्ती उठाएर काठमाडौं ल्याई होटलमा राखेका थिए । बुधबार बिहानै यादव त्यहाँबाट फुत्केर आफ्नो पार्टीको सम्पर्कमा पुगेका थिए ।
डा. यादवलाई काठमाडौं ल्याउने तीनै जनाले प्रधानमन्त्री केपी ओलीले खटाएर आफूले यो काम गरेको बताएको पीडित यादवले भन्दै आएका छन ।
यसैबीच प्रहरीले जाहेरी लिन नमानेको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबृुराम भट्टराईले आफ्नो एक ट्विटमा लेखेका छन, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरण सम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !