वीरगञ्ज, वैशाख १० गते । लकडाउनका कारण समस्यामा रहेका विपन्न परिवारलाई गुणस्तरहीन खाद्यान्न वितरण गर्ने एक मेयर सहित १२ जना विरुद्ध बारामा मुद्दा दायर गरिएको छ ।
राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरिएको जनाइएको छ ।

नगर प्रमुख यादवसहित १२ जना विरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको हो । वितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले नगर प्रमुखको संलग्नता रहेको दाबी गर्दै मंगलबार सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
मंगलबार नै उनलाई बारा जिल्ला अदालत पेश गरिएको थियो । अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन ।
बुधबार प्रहरीले नगर प्रमुखका काकाको छोरा रोशन भनिने रविन्द्र यादवलाई पनि नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा राहतको नाममा कुहिएको दाल वितरणमा जनप्रतिनिधिहरु फस्दै गएको देखिएको प्रहरी अधिकारीहरुको दाबी छ ।

नगर प्रमुख यादवसहित मंगलबार प्रहरीले यादव आईस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव र कलैया वडा नं २७ का वडा अध्यक्ष रियाजुल अन्सारीलाई समेत नियन्त्रणमा लिएको थियो । यसअघि प्रहरीले ५ जना वडा अध्यक्ष, १ जना वडा सचिव लगायतलाई नियन्त्रणमा लिइसकेको थियो ।
वडा नं १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनार, वडा नं ७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नं ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नं १३ का अध्यक्ष राजनप्रसाद कुर्मी, वडा नं २६ का महेश साह, वडा नं २० का सचिव खेदु मियाँ, कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगञ्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई समेत नियन्त्रणमा लिएर प्रहरील अनुसन्धान गरिरहेको जनाइएको छ ।
कलैया उपमहानगरपालिकाका विभिन्न वडाले २०७३ सालदेखि यादव आईस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए । वडा नं २० बसतपुरमा पनि कुहिएको दाल वितरण गर्न थालेपछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !