जनकपुरधाम, वैशाख ६ गते । बर्दिबास नगरपालिकाले कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि हालसम्म जनचेतनामूलक सूचना सन्देश प्रवाहदेखि राहत वितरण र क्वारेन्टाईन निर्माणसम्मको तीन चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ ।
नेपालमा कोरोना संक्रमित भेटिएदेखि नगरपालिकामा सचेतना एवं सर्तकता र लकडाउन पालनाका लागि वडाहरुमा जनचेतनामूलक सूचनाको बोर्ड, पर्चा पम्पलेट र फ्लैक्स बोर्ड लगायतका झुण्डयाउनेदेखि माईकिंग, रेडियो तथा पत्रपत्रिका मार्फत सूचना प्रवाह सहितका कार्यक्रम पहिलो चरणमा सम्पन्न गरिएको छ ।

दोश्रो चरणमा वडाहरुको विभिन्न स्थान, बजार क्षेत्र र चौकहरुमा साबून पानीको व्यवस्था र प्रत्येक घर घरमा व्यक्तिहरुलाई मास्क र साबून वितरण तथा लामखुट्टे मार्ने औषधि पालिकाभित्र छिर्काउ लगायतका कार्यक्रम सम्पन्न गरिसकिएको नगरपालिकाका मेयर विदुर कार्कीले जानकारी दिएका छन ।
तेश्रो चरणमा नगरपालिकाले कोरोना भाइरस रोकथामका जारी लकडाउनले मार्कामा परेका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, दलित, गरीब र अतिविपन्न विपन्न परिवारलाई राहत वितरण र क्वारेन्टाईन निर्माणको कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए ।
प्रदेश सरकारले उपलब्ध गराएको १५ लाख रुपैयामा पालिकाको कोषबाट थपेर ४ हजार ८ सय ५२ घर परिवारलाई चामल, दाल, नून, सोयाबीन, आलू र साबून लगायतका खाद्य सामाग्री सहितको राहत वितरण वडा कार्यालयहरुमार्फत वितरण गरिसकिएको मेयर कार्कीले जानकारी दिए ।
कोरोना भाइरसको शंकास्पद तथा लकडाउन अवधिमा भारतबाट आउने नेपाली नागरिकको निगरानीको लागि नगरपालिका स्थित समाजिक सेवा संस्थान र जनसेवा अस्पतालमा क्वारेन्टाईन निर्माण गरिएको कुरा प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पराजुलीले जानकारी दिए ।
उनले भने अहिलेसम्म पालिकामा संक्रमित फेला नगरेपनि निर्माणाधीन अस्पतालमा आइसोलेशन वार्ड र आफ्नै ल्याब संचालन गर्ने सम्बन्धमा छलफल भइरहेको छ । यसका साथै पालिका स्थित स्वास्थ्य संस्थाहरुमा दैनिक रुपमा र घरदैलोमा समेत स्वास्थ्य चेकजाँच कार्य जारी रहेको छ ।
क्वारेन्टाईन र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई रोटरी क्लब र सेभ द चिल्ड्रेनको सहयोगमा पिपिई सहितका उपचार उपकरण उपलब्ध गराइएको छ । अन्य सहयोग भएपनि पालिकाबाट समेत स्वास्थ्य संस्थाहरुमा ग्लब्स, मास्क, थर्मल गन, सेनिटाइजर लगायतका उपचार सामाग्री नगरपालिकाले आफ्नै खर्चमा उपलब्ध गराएको अधिकृत पराजुलीले जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !