वीरगञ्ज, वैशाख ५ गते । राहत वितरणको विषयमा पर्साको छिपहरमाई गाउँपालिकामा विवाद हुँदा असन्तुष्ट पक्षको ढुंगा प्रहारबाट दुई जना घाइते भएको छ ।

गाउँपालिकाको वडा नं ३ को झलमैया टोलमा भएको सो विवादमा परी ढुंगा प्रहारबाट स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् । विनोदको गर्धन र चन्द्रिकाको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
राहत वितरणका क्रममा असन्तुष्ट मानिसहरुले लुकेर ढु्ंगा प्रहार गर्दा उनीहरुलाई चोट लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिएका छन ।
अति विपन्न र विपन्न परिवारका कोही राहत वितरणमा छुटेको भए नाम पेश गर्न आग्रह गरेपछि स्थिति बिग्रन नपाएको उनले भने । पाँच वटा वडामा सर्वदलीय समितिबाट नामावली संकलन गरेर झण्डै १७ सय परिवारलाई राहत वितरण गर्ने गाउँपालिकाको तयारी छ ।
शुक्रबार वडा नं ३ को झलमैयामा एक सय ३० जना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको थियो । राहत वितरणकै क्रममा विरोधीहरुले बिथोल्ने उद्देश्यले ढुंगा प्रहार गरेको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !