लोक समाचारदाता
जनकपुरधाम, माघ १६ गते ।
सीप परियोजना असफल भइरहेको भन्ने समाचार लोकपुकारले प्रकाशन गरेको भोलीपल्टै सो परियोजना अन्तर्गत वैदेशिक रोजगारमा जाने युवालाई सहुलियत ऋण दिन शुरु गरेको छ ।
गत साउन महिना ३१ गते प्रदेश २ सरकारको रोजगार प्रवद्र्धनको उद्देश्यले विभिन्न ६ वटा संस्था मिलेर सीप परियोजना गठन गरिएको थियो । सो परियोजना अन्तर्गत तीन वर्षभित्र ४२ हजार युवालाई रोजगार तथा एसबीआई र प्रभु बैंकले वैदेशिक रोजगारमा जाने युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।
परियोजना अन्तर्गत प्रभु बैंकले अगामी तीन वर्ष भित्र बैदेशिक रोजगारमा जाने सात हजार पाँच सय युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाख सम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।
प्रभाव पारेको समाचार यो हो :
बुधवार सीप परियोजना अन्तर्गत नै जनकपुरधाममा मोरंग अटो वक्र्सको सहकार्यमा जेसीबीको प्रशिक्षण केन्द्र स्थापना गरिएको छ । सो कार्यक्रममा सशुल्क प्रशिक्षण दिने मोरंग अटो वक्र्सलाई प्रदेश सरकारले निशुल्क जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । सोही विषयलाई आधार बनाएर लोकपुकारले सरकारी कार्यालय भाडामा, निजी कम्पनीलाई प्रदेश सरकारद्वारा जग्गा भन्ने शिर्षकको समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारमा ६ महिना बितिसक्दा पनि सीप परियोजना कार्यान्वयन नभई असफल भइरहेको उल्लेख गरिएको थियो । किनकी अहिलेसम्म सो परियोजना अन्तर्गत कसैलाई जागिर दिएको छ, न कसैलाई निशुल्क सीप र न वैदेशिक रोजगारमा जाने युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराएको छ ।
समाचार प्रकाशनको भोलीपल्टै प्रदेश सरकार, सिप परियोजना र प्रभु बैंक बीच बैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता अनुसार प्रभु बैंकले आज बाट युवाहरुलाई ऋण दिन शुरु गरेको हो ।
जनकपुरधामको सिता शरण हो्टेलमा आयोजित एक कार्यक्रम बीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेको हो । सो कार्यक्रममा ९ जना युवाहरुले पहिलो दिन उक्त सहुलियत ऋण पाएको छ ।
यसरी पाइने छ सहुलियत ऋण
प्रभु बैकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छन भने बाँकीको सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकारसंग गरेका छन ।
यस योजना अन्तर्गत बैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने वितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिनु पर्नेछ ।
सोको लगतै बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउमा बचत खाता खोली दिने र भिसा लागे पछि, भिसा, श्रम सम्झौता बैकमा जम्मा गरे पछि पाँच दिन भित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !