लोक समाचारदाता
जनकपुरधाम, मंसिर १८ गते ।
समाजिक सुरक्षा भत्ता सेवाग्राहीबाट घुस मांगरेको आरोपमा एक गाउँपालिकाको वडा नम्बर ६ का वडा सचिव र कार्यालय सहयोगीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
बाराको आदर्शकोतवाल गाउँपालिका ६ का वडा सचिव रामएकवाल यादव र कार्यालय सहयोगी दिनेश हजारामाथि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीबाट घुस माग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार बिगोसहित विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।
आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ का वडा सचिव यादव र कार्यालय सहयोगी हजराले वृद्ध भत्ता तथा विधवा भत्तासमेत वितरण गरेवापत प्रत्येक व्यक्तिसँग घुस रकम लिइरहेको दाबी अख्तियारको रहेको छ ।
अख्तियारका अनुसार वडा सचिव रामएकवाल प्रसाद यादवले रकम उठाउन लगाएको तथा कार्यालय सहयोगी दिनेश हजराले वडा सचिवको निर्देशनबमोजिम रकम उठाएको तथ्य सप्रमाण पुष्टि हुन आएको छ ।
राज्यले असहाय तथा असक्त नागरिकहरुलाई संरक्षणको लागि सामाजिक सुरक्षामार्फत उपलब्ध गराएको रकमबाट कानूनविपरीत रकम लिन मन्जुर गरेको देखिएकाले उनीहरुविरुद्द भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
यादव र हजरालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो १२ हजार ५ सय ४८ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने बताइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !