लोक समाचारदाता
जनकपुरधाम, असोज २९ गते ।
वर्तमान सरकारले नियोजित रुपमा पक्राउ गरेका सांसद प्रमोद कुमार साहको तत्काल रिहाईको मांग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले जनकपुरधाममा बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
बुधवार बिहानैदेखि प्रदर्शनमा उत्रेका राजपा नेता कार्यकर्ताहरुले बुद्ध एअर चरम लापरवाही गर्दै आएको भन्दै जनकपुर स्थित बुद्ध एअरको सिटी अफिसमा तालाबन्दी समेत गरेका छन् ।
दर्जनौको संख्यामा बुद्ध एअरका कार्यालय पुगेका राजपा नेता तथा कार्यकर्ताहरुले बुद्ध एअरले विमान ढिलो गर्दै आम जनतासँग चरम लापरवाही गर्दै आएकोले यस्ता सेवा चाहिएन, यो विमान कम्पनी जनकपुरबाट लग्न सहितका मांग गर्दै तालाबन्दी गरेका हुन ।
सर्लाही क्षेत्र नं. १ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रमोद कुमार साहलाई जनकपुरस्थित विमान स्थलमा रहेका बुद्ध एअरको काउण्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले मंगलवार पक्राउ गरेको थियो ।
उनको तत्काल रिहाईको मांग गर्दै मंगलवार दिउंसो देखि विरोध प्रदर्शन गर्दै आएको छ । आन्दोलित राजपा नेता कार्यकर्ताहरुले बुधवार बिहान ८ बजेदेखि एक घण्टा रामानन्द चौकमा सडक जाम गरी राजमार्ग समेत अवरुद्ध गरेका छन् । सो क्रममा जनकपुरधाम प्रवेश गर्ने सम्पुर्ण सवारी साधनलाई जिरोमाईल स्थित बस स्टेण्ड र पिडारी चोकमा रोकिएको थियो । एक घण्टाको जाम पश्चात सवारी साधन आफ्नो गन्तव्य तीर लागेका थिए ।
सोमवार बिमान स्थलमा दुई घण्टा देखि प्रतिक्षारत किड्नीका बिरामीदिलिप सहगलको अवस्था बारे जानकारी गराउन काउण्टरमा जाँदा विवाद भएको थियो । विवादको क्रममा सांसद साहले आक्रोशमा काउण्टरमा लात हान्दा केही तोडफोड भएको थियो ।
सांसद साहले गरेको तोडफोड विरुद्ध नेपाल नागरिक उड्यान प्राद्यिकरणले प्रहरीमा उजुरी दर्ता गराएपछि उनलाई मंगलवार बिहान करीब साढे ११ बजेतिर काठमाण्डौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट पक्राउ गरिएको थियो ।
यसैबीच राजपा नेपाल धनुषाले सांसद साहलाई अविलम्ब रिहाई नगरिए थप आन्दोलनको कार्यक्रम चरणबद्ध अगाडी बढाउने राजपा नेपालका प्रदेश सांसद परमेश्वर साहले जानकारी दिएका छन ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !