लोक सम्वाददाता
जनकपुरधाम, असार २१ गते ।
महोत्तरीको पशुपतिनगरमा करोडौको लगानीमा पानी टयांकी निर्माण गरिएपनि सर्वसाधारणलाई पानी खान निकै समस्या भोग्दै आएका छन् ।
जिल्लाका पशुपतिनगर, किसाननगर, भव्सी र हात्तीलेटलगायतका स्थानलाई लक्षित गरी करोडौको लगानीमा खानेपानी टयांकी निर्माण गरियो तर संचालनमा नआउंदा सो क्षेत्रका जनता खानेपानीका लागि धौ धौ परिरहेको छ ।
सो क्षेत्रका जनता टायरगाडाबाट डाममा अन्तै गाउँबाट पानी ल्याएर खाने गरेको छ । केही ठाउँमा इनार भएपनि सुक्खायाम मौसममा कयौं किलोमीटर हिडेर पानी ल्याउनु परिरहेको छ ।
पशुपतिनगरमा गत वर्ष नै खानेपानीको एउटा ओभरहेड ट्यांकी निर्माण भएको थियो । तर अझै सञ्चालनमा आउन सकेको छैन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नम्बर २ जलेश्वरका इन्जिनियर सुरेन्द्रप्रसाद शर्माले उपभोक्ता समितिको कारण ओभरहेड पानी ट्यांकी सञ्चालनमा आउन नसकेको बताएका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्वाचन क्षेत्रसमेत रहेको उत्तरी भेगस्थित क्षेत्र नम्बर १ का जनताको तिर्खा मेट्न आफ्नो संसदिय बजेटमध्ये एक करोड ४८ लाख पानीमै लगानी गरेका थिए । तर खानेपानीका लागि जनताले सास्ती खेप्नु नै परिरहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !