लोक सम्वाददाता
जनकपुरधाम, असार २१ गते
संसदीय कोष र कार्यकर्ता पाल्न उपभोक्ता समितिबाट विकास निर्माणको कार्य गराउने व्यवस्था खारेज गर्न प्रदेश सरकारलाई वक्ताहरुले मांग गरेका छन् ।
शनिवार प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्रालयको सहयोगमा श्री जनक मिडिया पब्लिकेशनव्दारा आयोजित बहुआयामिक विकासका लागि जनचेतना अभिवृद्धि सम्बन्धी गोष्ठीमा वक्ताहरुले तिनवटै निकायका सरकारसंग यस्तो माग गरेका हुन ।
कार्यक्रममा वक्ताहरुले उपभोक्ता समितिको नाममा मन्त्रीदेखि स्थानीय सरकारसम्मले कमीशन र कार्यकर्ता पाल्ने खेलमा करोडोको योजना बांडने गरेकोले त्यसबाट हुने काममा भ्रष्टाचार र गुणस्तरहिन गरेकोले ती कानूनी प्रावधान अन्त्य गर्न मांग गरे ।
प्रदेश सरकार बांडिएको विभिन्न योजनाहरुको उदाहरण दिदै उनीहरूले बजेट हत्याउन सम्बन्धित मन्त्री, सांसद र कार्यालयले आ आफ्नै नातेदार, आसेपासे र कार्यकर्तालाई उपभोक्ता समितिको नाममा योजना दिने र ठेकेदारसँग नै काम गराउने गरेकोले एउटै योजनाबाट दुई ठाउँमा कमाई गर्न खोज्दा काम गुणस्तरहीन हुने गरेको दाबी गरे ।
साथै प्रदेश र संघीय सांसद मार्फत संसदीय र निर्वाचन क्षेत्रको नाममा गराइदै आएको विकास निर्माणको काम बन्द गर्न मांग समेत गरे । उनीहरुले भने सांसदको काम हो निती, नियम र कानून बनाउने, सरकारलाई सचेत र सहयोग पुरयाउने न कि विकासको नाममा ठेकेदारी गर्ने, सांसद नै विकास निर्माण गर्न थाल्यो भने मन्त्रालय र स्थानीय सरकारको के काम प्रतिप्रश्न गरे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बजेट सिध्याउन संघिय, प्रदेश र स्थानीय सहितका तिनवटै सरकारले विकासका लागि असार मसान्तमा योजना बांडने काम बन्द गर्न आग्रह समेत गरे ।
कार्यक्रममा प्रमुख अतिथि भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिबाट काम गराउनु पर्ने प्रक्रियामा नियन्त्रण गरिने प्रतिबद्धता जनाए ।
उनले भने उपभोक्ता समितिबाट निर्माण काम गराउनु पर्ने प्रक्रिया प्रदेश सरकारले होईन सुरूदेखि नै चल्दै आएको हो, कानुन आभावले गर्दा प्रदेश सरकारले बाध्यात्मक परिस्थितीमा प्रदेश सरकारले पनि गराएको हो तर आगामी दिनमा सुधार गरिनेछ।
जनक मिडियाका अध्यक्ष डा. विजय कुमार सिंहको अध्यक्षता सम्पन्न गोष्ठीमा प्रदेश सभा सदस्य रामआशिष यादव, रामसरोज यादव, परमेश्वर साह, शत्रुध्न महतो, अधिवक्ता पंकज कर्ण, निर्माण व्यवसायी र विभिन्न संघ संस्थाका प्रतिनिधिले आ आफ्ना धारणा राखेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !