
लहान, वैशाख २१ गते ।
सिरहाको लहानमा १४ वर्ष पहिला नै निर्माण भएको बस पार्क व्यवसायीहरुको दबाव कारण संचालनमा आउन सकेको छैन ।
२०६१ सालमै व्यवस्थित बसपार्क निर्माण भएपनि राजमार्ग छेउका व्यवसायीहरुले यहाँ बस लाग्न छाडेपछि व्यवसाय नै नचल्ने डरले निर्माण गरिएको बसपार्क संचालनमा आउन दिएको छैन ।
लहान स्थित सप्तऋषि नर्सिङ होमदेखि करीब एकसय मिटर दक्षिणमा तीन बिगाहा क्षेत्रफलमा निर्माण भएको बसपार्क संचालनका लागि पटक पटक प्रयास गरिएपनि स्थानीय व्यवसायीले राजनीतिक पावर पैसाको चलखेल गरी संचालन हुन दिएको छैन ।
उता बस पार्कमा निर्मित पुर्वाधार प्रयोगविहिन अवस्थामा रहेको छ भने यता राजमार्ग छेउमा अव्यवस्थित तरिकाले लामो तथा छोटो दुरीको बस पार्किंगले गर्दा प्रायः दुर्घटना निम्तिने गरेको छ । लहान नगरपालिकाले स्थानीय निजी कम्पनी लहान ट्रान्सपोर्ट टर्मिनल म्यानेजमेन्ट कम्पनीलाई गत २०६१ सालमा बसपार्क सञ्चालन गर्न सम्झौता गरेको थियो ।
तर २०६२÷६३ को जनआन्दोलन पश्चात् तत्कालीन पदाधिकारीहरु हटेपछि सो निर्माण कार्य पनि बन्द भएको थियो । त्यसमा केही काम मात्रै बाँकी रहेको छ, बस संचालन नहुँदै भौतिक संरचना समेत जर्जर बन्ने अवस्थामा पुगेको छ ।
करीब ६ सय सवारी साधन अटन सक्ने क्षमता सहितको सात करोड रुपैयाको लागतमा निर्माण भएको सो बसपार्कसम्म जान ग्राभेल सडक, काउण्टर, पसलहरु सञ्चालन गर्ने सटर, शौचालय तथा प्रहरी बिट निर्माण भई प्रयोग विहिन अवस्थामा रहेको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनी सञ्चालक समितिका अनुसार नगरपालिका सँग ३५ वर्षका लागि बसपार्क सञ्चालन गर्ने सम्झौता भएको छ । सो बसपार्कबाट नै बस संचालन गर्नुपर्ने पटक पटक आग्रह गर्दा पनि नगरपालिकाले कुनै चासो नदेखाएको आरोप लगाएको छ ।
कम्पनीका सञ्चालक समितिका सदस्य विनोद साहले बसपार्क निर्माण भएपछि केही वर्षअघि चार÷पाँच महीना जति बसपार्कबाट बसहरु सञ्चालन भयो तर राजमार्ग छेउका व्यवसायीहरुको दबावमा बन्द गरियो ।
सडकमै जताततै सवारी साधन पार्किङ हुने गरेकाले सवारी साधनको आवागमनमा समस्या हुनाका साथै दुर्घटनासमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !