जनकपुरधाम, ३ चैत । धनुषामा मिटरव्याज तथा ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१० निवासी ४३ वर्षीय दीपेन्द्रकुमार दासलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार चैत १ गते पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानपछि अदालतमा पेश गर्ने तयारी भइरहेको छ । प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले दासविरुद्ध लेनदेनसम्बन्धी पुरानो विवादका आधारमा ठगी मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।
यो प्रकरण बटेश्वर गाउँपालिका–५ शान्तिपुर निवासी श्यामसुन्दर महतोले दिएको उजुरीपछि सार्वजनिक भएको हो । महतोले व्यापार प्रयोजनका लागि २०७८ साल वैशाख २७ र २८ गते दाससँग क्रमशः २ करोड १५ लाख र १ करोड २५ लाख रुपैयाँ गरी कुल ३ करोड ४० लाख ऋण लिएको बताएका छन् ।
उजुरीमा उल्लेख भएअनुसार ऋण लिँदा दासले विभिन्न कागजात र ठूलो रकमका चेकहरू लिएका थिए । महतोले हालसम्म सावाँ र ब्याजसहित कुल ४ करोड ७७ लाख ५० हजार रुपैयाँ फिर्ता गरिसकेको दाबी गरेका छन् । तर, यति रकम बुझाउँदा पनि ऋण समाप्त नभएको भन्दै दासले थप रकम माग्दै धम्की दिने, चेक प्रयोग गरी मुद्दामा फसाउने र बैंकमार्फत कालोसूचीमा राख्ने चेतावनी दिएको आरोप महतोले लगाएका छन् ।
उनले ब्याजको नाममा ९६ लाख रुपैयाँ बढी असुली गरिएको दाबी गर्दै न्यायका लागि सम्बन्धित निकायसँग गुहार मागेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !