जनकपुरधाम, फागुन १४ गते । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार महेन्द्र यादवले आफ्नाे घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
बिहानदेखि राति १० बजेसम्म निरन्तर मतदाताको घरदैलोमा पुगेर उनले प्रचारप्रसारलाई सशक्त बनाइरहेका छन्।
मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै यादवले विकासका अधुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संविधान, संघीयता र लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेस नै उपयुक्त विकल्प रहेको दाबी गर्दै मत मागिरहेका छन्।

उनका अनुसार धनुषा–४ मा विगतमा कांग्रेस नेतृत्वको सरकारले विभिन्न विकास निर्माणका काम अघि बढाए पनि अझै कृषि क्षेत्रका लागि पर्याप्त सिँचाइ सुविधा, आधुनिक र सुविधा सम्पन्न अस्पताल, गुणस्तरीय उच्च शिक्षा तथा सडक पूर्वाधार निर्माण जस्ता काम बाँकी छन्। “यी अधुरा योजना पूरा गर्ने जिम्मेवारी मैले लिनेछु,” उनले मतदातासँग प्रतिबद्धता जनाए।
घरदैलो अभियानकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफू निर्वाचित नभए पनि कांग्रेस सरकारमा रहेका बेला खानेपानी र सिँचाइका लागि डिप ट्युबवेल तथा बोर्डिङ जडानको काम गराएको उल्लेख गरे। “यो क्षेत्र कृषि निर्भर भएकाले हालको व्यवस्था पर्याप्त छैन। विद्यालय स्थापना, अस्पताल र सडक पूर्वाधारमा पनि सकेसम्म काम गरेको छु। त्यसको मूल्यांकन जनताले गरिरहेका छन्,” उनले भने।

जनताको माया, स्नेह र विश्वासका कारण आफू जित नजिक रहेको दाबी गर्दै यादवले कांग्रेसप्रति देशव्यापी जनलहर देखिएको बताए। उनका अनुसार विभिन्न स्थानबाट कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या बढ्नु र मतदाताको समर्थन नै त्यसको प्रमाण हो। धनुषा–४ मात्र नभई मधेश प्रदेशमै कांग्रेसले उल्लेख्य सिट जितेर बहुमतको सरकार गठन गर्ने उनले दाबी गरे।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको प्रभावबारे सोधिएको प्रश्नमा यादवले सुरुआतमा केही माहोल देखिए पनि अहिले त्यो प्रभाव घट्दै गएको टिप्पणी गरे। निर्वाचन नजिकिँदै जाँदा त्यस्तो प्रभाव स्वतः हराउने उनको दाबी थियो।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !