जनकपुरधाम, २ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाले चुनावी तयारी तीव्र बनाएको छ।
पार्टीको धनुषा कार्यसमितिले प्रतिनिधि सभा निर्वाचन सम्पादनका लागि गठन गरिएको विशेष समितिको संयोजकमा जितेन्द्र महासेठलाई मनोनयन गरेको हो।
जिल्ला सभापति लक्ष्मेश्वर यादवले हस्ताक्षर गरेको पत्रअनुसार संगठन विस्तार, घरदैलो अभियान, मतदाता अभिमुखीकरण र निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन समिति गठन गरिएको उल्लेख छ। पार्टीले युवा मतदाता आकर्षण, पारदर्शिता र सुशासनको एजेण्डालाई प्राथमिकता दिने रणनीति लिएको जनाएको छ।
मनोनयनपछि महासेठले पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै तहका नेता–कार्यकर्तासँग समन्वय गरेर चुनावी परिणाम पार्टीको पक्षमा ल्याउने बताए। निर्वाचन नजिकिँदै जाँदा धनुषामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !