जनकपुरधाम । जनकपुरधामको विभिन्न सामाजिक कार्यमा सक्रिय संस्था व्याहुत सेवा समितिको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुन केही दिन मात्र बाँकी रहँदा चुनावी सरगर्मी बढ्न थालेको छ।
निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन इच्छुक उम्मेदवारहरू आ–आफ्नो तयारीमा जुटिसकेका छन्।
यसैक्रममा विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भई लामो समयदेखि सामाजिक कार्यमा सक्रिय शंकर साहले व्याहुत सेवा समितिको अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका छन्।
उनले स्वजातीय संस्था व्याहुत सेवा समितिको सर्वाङ्गीण विकासका लागि स्पष्ट योजना रहेकाले आफू नेतृत्वमा रहेर काम गर्न इच्छुक रहेको बताए।
साहले यसअघिका पूर्व अध्यक्षहरूले संस्थाको विकासका लागि गरेको योगदानको प्रशंसा गर्दै आफू पनि नयाँ सोच र योजनासहित केही नयाँ काम गर्न चाहेको उल्लेख गरे।
स्वजातीय समुदायभित्र रहेका गरिब तथा विपन्न परिवारको उत्थान, उनीहरूका छोराछोरीको विवाहमा आइपर्ने आर्थिक समस्याको समाधान, तथा विपन्न छात्रछात्राहरूको शैक्षिक समस्यालाई सम्बोधन गर्ने नयाँ योजना आफूले अघि सारेको उनले बताए।
संस्थालाई सेवाभावका साथ अगाडि बढाउँदै समाजका हरेक तह र तप्काका व्यक्तिहरूको सहयोगमा सामाजिक कार्यलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
अध्यक्ष पदका आकांक्षी साह यसअघि व्याहुत सेवा समितिमा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। यसका साथै उनी हाल प्रकाशक महासंघ नेपालका अध्यक्ष समेत रहेका छन् भने जनकपुर जेसीजको उपाध्यक्ष पदमा रहेर पनि काम गरिसकेका छन्।
पछिल्लो निर्वाचनमा पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका साहले त्यसबेला पर्याप्त पूर्वतयारी बिना उम्मेदवारी दिएकाले पराजय भोग्नुपरेको अनुभव सुनाए। तर यसपटक पूर्व अध्यक्षहरू तथा स्वजातीय अगुवाहरूसँगको सल्लाह–समन्वयमा उम्मेदवारी दिने तयारी गरेको बताउँदै आफ्नो जितप्रति विश्वस्त रहेको उनले दाबी गरे।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !