जनकपुरधाम, पुस११ गते । जनकपुरधाममा १४ वर्षीया बालिकामाथि भएको सामूहिक जबरदस्ती करणी (बलत्कार) प्रकरणले गम्भीर मोड लिएको छ।
उक्त मुद्दामा पक्राउ परेकामध्ये मुख्य आरोपित मनोजकुमार साहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने एमाले नेतासहित अन्य पाँच जना आरोपितलाई धरौटीमा रिहा गरिएको छ।
जिल्ला अदालत धनुषाको ७ नम्बर इजलासमा न्यायाधीश ईश्वर आचार्यको इजलासले दुवै पक्षको बहसपछि आदेश दिएको हो। अदालतले मुख्य आरोपित भनिएका मनोजकुमार साहमाथि तत्काल उपलब्ध प्रमाणहरू गम्भीर देखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जनाइएको छ।
अदालतको आदेशअनुसार सोही घटनामा संलग्न रहेको अभियोग लागेका एमाले नेता शिवशंकर साह (हिरा), पीडित बालिकाका मामा संजय महासेठ, अमित ठाकुर र रामकुमार साहलाई जनही दुई–दुई लाख रुपैयाँ धरौटीमा तथा होटलका म्यानेजर रामबाबु झालाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ। धरौटी बुझाउन नसक्ने अवस्थाका आरोपितलाई थुनामा पठाइने आदेशमा उल्लेख छ।
अदालतले हाललाई धरौटीमा तारिखमा रिहा गरे पनि अनुसन्धान र प्रमाणका आधारमा पछि अभियोग ठहरे कानुन बमोजिम कडा सजाय तोकिने स्पष्ट पारेको छ।
यो घटनाको अभियोग पछिल्लो महिना जनकपुरधाम–जानकी चौकस्थित मनोज साहले सञ्चालन गर्दै आएको होटलमा भएको हो। पीडित बालिकालाई होटलमा लगेर सामूहिक जबरदस्ती करणी गरिएको आरोप प्रहरीमा दर्ता भएपछि घटनाले व्यापक ध्यान तानेको थियो।
घटनापछि फरार रहेका मुख्य आरोपित मनोज साहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याएको थियो। त्यस्तै, अर्का आरोपित तथा मनोजका भाइ शिवशंकर साह (हिरा)लाई भारतीय प्रहरीको सहयोगमा भारतको बिहार राज्य अन्तर्गत सीतामढीबाट पक्राउ गरी धनुषा ल्याइएको थियो।
शिवशंकर साह (हिरा) राजनीतिक रूपमा चर्चित व्यक्ति हुन्। उनी नेकपा एमालेका नेता रहनुका साथै जनकपुर उद्योग वाणिज्य संघ तथा मधेश उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत हुन्। पछिल्लो स्थानीय तह निर्वाचनमा उनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए र दोस्रो स्थान ल्याई प्रतिद्वन्दी बनेका थिए।
राजनीतिक र व्यवसायिक पहिचान भएका व्यक्तिहरू घटनामा जोडिएपछि यस प्रकरणले सामाजिक, राजनीतिक र नागरिक तहमा थप बहस र चासो उत्पन्न गरेको छ।
यस संवेदनशील घटनापछि स्थानीय बासिन्दा, अधिकारकर्मी तथा विभिन्न संघसंस्थाले निष्पक्ष छानबिन, पीडितलाई न्याय र दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन्। प्रकरणको थप अनुसन्धान जारी रहेको र अदालतको अन्तिम फैसलातर्फ सबैको ध्यान केन्द्रित भएको छ।
प्रहरीका अनुसार गत कार्तिक २२ देखि २५ गतेसम्म जनकपुरधामस्थित एक होटेलमा नाबालिकालाई बन्धकझैँ राखी साहसहित चार जनाको समूहले सामूहिक जबरजस्ती करणी गरेको आरोप छ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १३ का नाबालिगलाई होटेलमा दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको थाहा पाएपछि पीडित हजुरबुवा र आमाले कार्तिक २३ गते बिहान ५ बजे उद्धार गरी घर लगेका थिए भने केही दिन घटना ढाकछाेप गर्न ठुलाे चलखेल गरिएकाे थियाे घटना लुक्न सकेन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !