जनकपुरधाम, कात्तिक १४ गते। बिहीवार रातिदेखि निरन्तर जारी वर्षाको कारण कोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शुक्रवार बिहान १ लाख १८५ क्यूसेक रहेको पानीको बहाव बेलुकासम्म बढेर १ लाख २८ हजार ११५ क्यूसेक पुगेको विभागका अधिकारीहरूले जानकारी दिएका छन् । विभागका अनुसार पानीको बहाव हाल सामान्य सीमाभित्र रहे पनि आगामी केही घण्टामा स्तर झनै बढ्ने सम्भावना रहेको छ ।
अविरल वर्षाका कारण मधेश प्रदेशका सप्तरी, सिरहा लगायतका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको पूर्वानुमान अनुसार शनिवारसम्म भारी वर्षा हुने सम्भावना रहेकाले नदी आसपासका बस्तीहरूमा बाढीको जोखिम उच्च रहेको चेतावनी दिइएको छ ।
स्थानीय प्रशासन र जलस्रोत निकायहरूले सर्वसाधारणलाई आधिकारिक सूचनाहरूको पालना गर्न र नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक रूपमा नजान अनुरोध गरेका छन् । साथै, नदीको सतह तीव्र गतिमा बढ्दै गएको कारण जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्ने तयारी गर्न समेत सुझाव दिइएको छ ।
ब्यारेज क्षेत्रमा हाल वर्षा पहिलेभन्दा बढी भइरहेको र आसपासका गाउँ–बस्तीहरूमा पनि पानीको स्तर निरन्तर बढिरहेको स्थानीयहरूले बताएका छन् । सरोकारवाला निकायहरूले परिस्थिति अनुसार आवश्यक उद्धार तथा राहत तयारी समेत अघि बढाएको जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !