जनकपुरधाम, कात्तिक १२ गते । मधेश प्रदेशमा आगामी तीन दिन कात्तिक १३ गते बिहीबारदेखि शनिबारसम्म अत्यधिक वर्षा हुने पूर्वानुमानसँगै बाढी र डूबानको जोखिम बढ्ने सम्भावना रहेको भन्दै मधेश प्रदेश सरकारले आम नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
बुधबार प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आयोजना भएको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा सम्भावित विपत्तिको सामना गर्न आवश्यक तयारीबारे छलफल गरिएको थियो। बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनल, तीनै सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री सोनलका अनुसार भारतको उडिसा क्षेत्रबाट सुरु भएको मोन्था चक्रवात बिहीबारदेखि प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेकाले पूर्वतयारीका सबै उपायहरू अघि बढाइएको छ ।
उनले भने, “जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्म मध्यमदेखि अत्यधिक वर्षा हुने अनुमान गरेको छ। त्यसका लागि प्रदेश सरकारले सबै तयारी पूरा गरिसकेको छ र चौबिसै घण्टा निगरानी गरिरहेको छ ।”

मुख्यमन्त्री सोनलले प्रदेश प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका उद्धार टोलीहरूलाई उच्च सतर्क अवस्थामा राखिएको जानकारी दिए। उनले थपे, “आवश्यक पर्ने डुँगा, लाइफ ज्याकेट, डोरी लगायतका उद्धार सामग्रीहरू भण्डारण गरिएको छ र संघीय सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको छ ।”
उनका अनुसार, तटीय क्षेत्रका बस्तीहरू बढी जोखिममा हुने भएकाले सुरक्षाकर्मी र गैरसरकारी संस्थाहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। सोनलले नागरिकहरूलाई सतर्क रहँदै प्रदेश र जिल्ला प्रशासनले जारी गरेका सर्तकता अनुरोधहरू पालना गर्न आग्रह गरे ।
मुख्यमन्त्री सोनलले जोखिम भएका तटीय बस्तीका बासिन्दालाई तत्काल उच्च स्थानमा सारिन, बाढी प्रभावित क्षेत्रमा अनावश्यक आवागमन नगर्न, काटिएका धानबाली तुरुन्त भित्र्याउन, र खतरा महसुस भएमा नजिकको प्रहरी चौकी वा प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।
प्रदेशका सप्तकोशी, बागमती, कमला, रातु, लखनदेही र लालबकैया नदीहरूमा जलस्तर बढ्ने सम्भावना रहेको भन्दै उनले तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थान—विद्यालय, धर्मशाला वा सामुदायिक भवनमा सर्न अनुरोध गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा मध्यमदेखि अतिभारी वर्षा हुने सम्भावना छ। विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेश हुँदै कमजोर हुँदै उत्तर–उत्तरपश्चिम सर्दै नेपालका बागमती, मधेश र कोशी प्रदेशमा बिहीबारदेखि शनिबार बिहानसम्म प्रभाव पार्नेछ ।
“विपत्तिको सामना प्रदेश सरकार मात्रले होइन, हामी सबैले मिलेर गर्नुपर्छ। सतर्कता र जानकारी नै सुरक्षाको पहिलो कदम हो ” उनले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !