जनकपुरधाम, असोज २५ गते । खत्बे जातिको उत्थान र राजनीतिक तथा प्रशासनिक पहुँचका लागि मधेश प्रदेशस्तरीय महासम्मेलन आयोजना गरिएको छ ।
महासम्मेलनका प्रमुख अतिथि पूर्व संविधान सभा सदस्य मा. रामदयाल मण्डलले लोकतन्त्रमा जातिय विभेदको स्थान नरहेकाले जातिय संस्थाहरु संगठित हुनु आवश्यक रहेको बताए । उनले आफ्नो जातिय उत्थान र राजनीतिक तथा प्रशासनिक पहुँच सहितका अधिकारका लागि आवाज बुलन्द पार्नका लागि खत्वे समाज ढिलै भएपनि संगठित हुन लागेकोमा सकारात्मक पक्ष रहेको भने ।
समितिको मधेस अध्यक्ष राजाराम मण्डलले देशको विभिन्न निकायमा आफ्नो जातिको सहभागिताका साथै अब हुने निर्वाचनमा आफ्ना जातिका उम्मेदवारहरु समेत उठाउन दवाब बनाउने बताए । उनले सरकारले आफ्नो जातिलाई समानुपातिक हिसाबले सहभागिता नगराइए आफूहरु सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
जनकपुरधाममा आयोजित खत्वे समाज समितिको प्रथम मधेस महासम्मेलनमा विभिन्न जातिगत समस्या, सोको सामाधान लगायतको विषयमा छलफल गर्नुका साथै नयाँ प्रादेशिक समितिको चयन समेत उनले जानकारी दिए ।
खत्वे समाज समितिको मधेस प्रदेश समितिले आफ्ना जातिका प्रतिनिधिको शासन व्यवस्थामा प्रतिनिधिको सहभागिता गराउन महासम्मेलन मार्फत माग गरेको छ । जनकपुरधाम खत्वे समाज समितिको प्रथम मधेस महासम्मेलनमा समितिले आफ्नो जातिलाई राज्यको विभिन्न निकायका साथै शासन प्रशासनमा सहभागिताबाट बञ्चित गरिदै आएको आरोप लगाउँदै सहभागिता गराउन माग गरेको हो ।
सो महासम्मेलन कार्यक्रममा खत्बे जातिसँग आबद्ध विभिन्न संघ संगठन तथा जातिय मन्दिरका प्रतिनिधिहरुले खत्बे जातिको अवस्था बारे जानकारी गराउंदै एकजुट हुन आग्रह गरेका थिए । यसअघि खत्बे समाजले रैली सहितको जनकपुरधाममा नगरपरिक्रमा गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !