जनकपुरधाम, भदाै २३ गते । जेनजीकाे प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौसँगै विरगञ्ज, इटहरी, झापाको विर्तामोड, रुपन्देहीमा कफ्र्यु लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुकी ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो ।
‘जेनजी’ समूहले सोमबार बेलुका वीरगन्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए ।
रुपन्देही जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको छ । बुटवल देखि भैरहवा क्षेत्र भित्रका चार किल्ला तोकेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कफ्र्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सुरक्षा संवेदनशिलता ध्यानमा राख्दै कफ्र्यु आदेश जारी गरेको जानकारी दिए । बुटवल क्षेत्रमा पूर्वमा धागो कारखाना पुल सम्म, पश्चिममा बेलबास चोक सम्म, उत्तरमा चिडिया खोला र दक्षिणमा मंगलापुर सम्म कफ्र्यु लगाइएको छ ।
यस्तै बिर्तामोड क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सोमबार बेलुकी ८ः३० बजेदेखि मंगलबार बिहान ५ः०० बजेसम्म बिर्तामोड नगरपालिका क्षेत्रका चारवटा सीमाभित्र कफ्र्यु लागू हुने गरी आदेश दिएका हुन् ।
पूर्वतर्फ बिर्तामोड बसपार्क प्रवेश मोडसम्म, पश्चिमतर्फ रामचोकसम्म, उत्तरतर्फ महानन्दचोकसम्म र दक्षिणतर्फ सैनिक मोडसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !