जनकपुरधाम, भदौ २३ गते । जेनजीहरूको प्रदर्शनबाट सोमवार मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार यो समाचार लेख्दासम्म मृतकको संख्या २१ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौमा मृत्यु भएकाहरु १९ जना मध्ये श्रीराम चौलागाई, सुलभराज श्रेष्ठ, बुद्धिबहादुर तामा.ग, गौरव जोशी, सौरभ कटुवाल, इधन बहादुर अधिकारीको मात्र पहिचान खुलेको छ ।
यता सुनसरीको इटहरीमा जेनजीहरुको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए ।
उनीहरूमध्ये २ जनाको मृत्यु भएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतका अनुसार उपचारको लागि अस्पताल ल्याइएका अन्दाजी २५ र ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको पहिचान खुलेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो ।
प्रतिष्ठानमा उपचारका लागि लगिएका उनीहरूलाई चिकित्सकले मृत घोषण गरेका हुन् । घटनाबारे प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । प्रजिअ मिश्रले घाइतेको मृत्यु भएको पुष्टि भइनसकेको बताए ।
इटहरीस्थित उपमहानगरपालिका कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गर्दा प्रहरीले चलाएको गोली लागेर तिनीहरुको मृत्यु भएको थियो । झडपपछि प्रशासनले इटहरीमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरीले नगरपालिकाको आगजनीमा संलग्न भएको भन्दै केही युवालाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढंगामुढा गरेका थिए ।
छानबिन समिति बनाउने निर्णय
जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !