जनकपुरधाम, साउन १२ गते । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ मा पर्ने गोबरौडा स्थित गोसाईकुण्ड सार्वजनिक पोखरीको अतिक्रमण जग्गा गाउँ ब्लककाे भनेर केही लालपुर्जा वितरण गरिएको रहस्य खुलेकाे छ ।
स्थानीय समाजसेवी रामपुकार साहले सोमवार एक पत्रकार सम्मेलन गरी गोबरौडा गाउँस्थित कि.नं. २५१ रहेको गोसाईकुण्ड पोखरीको जग्गा ३२ टुक्रामा किताकाट गरी गाउँ ब्लकको जग्गा हाे भनेर अतिक्रमणकारीहरुको नाममा दर्ता गरी लालपुर्जा वितरण गरिएकाे खुलासा गरेका हुन् ।
उनले भने वडाध्यक्ष मिश्री नायक, नापी कार्यालय महोत्तरी शाखाका प्रमुख रामविनय सिंह र नापी टोली प्रमुख नवलकिशोर साह लगायतको मिलोमतोमा आर्थिक लेनदेन अतिक्रमणकारीहरुका अनुसार किताकाट गरियाे अहिले आएर ती जग्गा गाउँब्लकको जग्गा हो भनी ५/७ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) समेत पाइसकेको छ ।

साहले थप्दै भने सार्वजनिक पोखरी बचाउन नगरपालिका, जिल्ला प्रशासा कार्यालय र अख्तियारमा समेत गयौं तर समस्या समाधान हुन सकेन । जिल्ला प्रशासन कार्यालयले किताकाट गरिएका जग्गा रद्द गरी साबिक नक्सा अनुसार पोखरीको नाममा परिणत गर्न र नगरपालिका समेतले किताकाट गरिएका जग्गा खारेज गरी पोखरी साबिक अनुसार नक्सांकन गर्न निर्देशन दिएपनि नापी प्रमुख सिंहले आलटाल गर्दै आएको हो ।
साहले भने जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको निर्देशन बेवास्ता गर्दै नापी प्रमुख सिंहले किताकाट गरिएका जग्गा खारेज गर्नुको त कुरै छाडै नयाँ नक्सा र फिल्डबूक समेत दिन मानिरहेको छैन ।
उनका अनुसार पोखरी डिलको जग्गा अतिक्रमण रामभजन यादव, तपेश्वर महतो, दिपलाल महतो, विजय महतो, कपुर महतो, दुखरन साह र स्व. जगदीश महतोको घर बनाएर बस्दै आएको छ र तिनीहरु गाउँब्लकको जग्गाकाे नाममा लालपुर्जा समेत पाइसकेको छ ।
साहको आरोप बारे नापी प्रमुख सिंहले पनि पोखरीको जग्गा गाउँब्लकमा किताकाट गरिएको स्वीकार गरे । उनले भने विगतमा भएको नापीमा पोखरीको डिलका केही जग्गा त्रुटिवश गाउँब्लकमा किताकाट गरिएको थियो । तर साह नेतृत्वमा गाउँलेहरुको टोलीले गुनासो गर्दा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा एक साता अघि नै किताकाट नक्सा सच्याईसकेका छौं ।

सच्याइसकेपछि विवाद किन भने प्रसंगमा सिंहले भने साह सहितका केही गाउँलेहरु नक्सा र फिल्डबूक माग गर्दा नदिएपछि विवाद गरेको हो । कानूनतः किताकाट गरेको १२० दिनसम्म नयाँ नक्सा र फिल्डबूक उतार दिन नमिल्ने भएकाले अहिले दिएका छैनौ । ४ महिनापछि आउनु भनेपछि उहाँहरुले विवाद गरिरहेको हो ।
साहको आरोप बारे नापी प्रमुख सिंहकाे प्रतिक्रियामा वडाध्यक्ष नायकले भने अहिलेसम्म किताकाट खारेज गरिएको छैन । केही दिनअघि नापी कार्यालयमा पोखरीको नापजाँच गरी जग्गा छुटयाउन ताकेता गर्दा अहिलेसम्म नगरेको बताए ।
वडाध्यक्ष नै गाउँब्लकको जग्गा हो भनी सिफारिस गरेको आरोपमा वडाध्यक्ष नायकले भने २०६३ सालमा नापी गरिए अनुसार सर्वदलीय बैठकबाट गाउँ ब्लकको जग्गा वितरणका लागि सिफारिस गरेका थियौं ।
ती मध्ये रामभजनलाई मात्र लालपुर्जा दिइएको हो । तर साहले आरोप लगाए अनुसार अतिक्रमणकारी भनिएकाहरुको घर पोखरी डिलको जग्गामा नरहेको दाबी गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !