जनकपुरधाम, साउन ९ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा नवनिर्मित प्रसुतिगृह अस्पताल र एक पुलको उद्घाटन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ६ मा नवनिर्मित पाँच शय्याको सुविधासम्पन्न प्रसूति गृह अस्पतालको प्रधानमन्त्री केपीशर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त प्रसूति गृह राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको साझेदारीमा झन्डै २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरले यसअघि मटिहानी वडा नं. ८ मा रहेको बिग्ही नदीमाथिको पुल उद्घाटन गरेपछि वडा नं. ६ को जरलहवा गाछीभन्दा दक्षिणमा रहेको उक्त प्रसूति गृहको समुद्घाटन गरेका हुन् ।

पाँच शय्याको यस भवनमा अपरेशन कोठा, डिलेभरी कोठा, एनआइसी युनिट, वेटिङ रुम, ओपिडी, फार्मेसी, नर्सिङ कोठा, शौचालय र सोधपुछ केन्द्रजस्ता पूर्वाधार रहेका छन् । यस प्रसूति गृहको निर्माणले मटिहानी आसपासका महिलाहरूलाई सुरक्षित सुत्केरी सेवा र नवजात शिशुका लागि आवश्यक उपचार सुविधा उपलब्ध हुने आशा गरिएको छ ।
मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले नगरमा बजेट अभावका कारण ५० शय्याको अस्पताल निर्माण गर्न नसकिएको बताउँदै सानो मात्रामा भए पनि सुविधा सम्पन्न प्रसूति गृह सञ्चालनमा ल्याउन सफल भएकोमा सन्तुष्टि व्यक्त गर्दै सो सेवा मातृ तथा शिशु मृत्युदर घटाउन सहयोगी हुने दाबी गरे ।

श्री कालिका कन्सट्रक्सन प्रालि, भरतपुर–चितवनले एक करोड ८८ लाख रुपैयाँको लागतमा ठेक्का लिएको उक्त प्रसूति गृहको निर्माण कार्य २०८१ माघमा सम्पन्न भएको हो । स्थानीयवासीले यस प्रसूति गृह सञ्चालनसँगै शल्यक्रिया र नवजात शिशुको उपचार स्थानीयस्तरमै सहज रूपमा हुने विश्वास गरिएको छ ।
सो उद्घाटन कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर, संघीय श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलगायतको उपस्थिति थियो ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !