जनकपुरधाम, असार ५ गते । सिरहाको गोलबजार ४ मा एक १७ वर्षीया युवतीले एक युवकलाई उनको डेरामै पुगेर छुरा प्रहार गरी गम्भीर घाइते बनाएकी छिन् ।
गोलबजार–२ की १७ वर्षीया अनिशा मण्डलको चक्कु प्रहारबाट गोलबजार–१३ का बासिन्दा २४ वर्षीय अशोककुमार महतो घाइते भएका छन् । अशोक त्यहाँ कोठा भाडामा लिएर बस्दै आएका थिए ।
प्रेम सम्बन्धमा दरार उत्पन्न भएपछि वादविवादको क्रममा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बिहीबार साँझतिर युवती डेरासम्म पुगेर तरकारी काट्ने छुरा प्रयोग गरी घाँटीमा प्रहार गरेको बताइएको छ । घाइते महतोको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

सिरहा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्रकुमार पासवानका अनुसार युवती र युवकबीच पहिले प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । हाल उक्त सम्बन्धमा विवाद देखिएपछि घटनाले यस्तो रूप लिएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरीका अनुसार, घरभित्र हल्लाखल्ला भएपछि स्थानीयहरू घरभित्र पस्दा युवती घरभित्रैको भ¥याङ हुँदै छतमाथिबाट हाम फालेकी थिइन् । उनको पनि शरीरमा चोट लागेको देखिएको र उनको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !