जनकपुरधाम, जेठ १४ गते । धनुषाको ग्रामीण भेग जनकनन्दिनी गाउँपालिकामा अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ ।
वान हर्ट वल्र्डवाइडको आर्थिक सहयोग तथा सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लूए) धनुषाको समन्वयमा सञ्चालित “स्थानिय सरकारसँगको साझेदारीमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढिकरण” परियोजना अन्तर्गत बुधवारदेखि उक्त सेवा सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष दिपिन देव यादवको अध्यक्षता, सामुदायिक परिवार कल्याण संघका अध्यक्ष महेन्द्र यादवको प्रमुख आतिथ्यता, उपाध्यक्ष कमला सहगलको उपस्थिति तथा वान हर्ट वल्र्डवाइडका वरिष्ठ जिल्ला संयोजक अमरेन्द्र रायको विशेष उपस्थितिमा एक समारोहका बीच अल्ट्रासाउण्ड सेवाको शुभारम्भ गरिएको छ ।
स्वास्थ्य चौकी खजुरी चन्हाबाट सुरु गरिएको ग्रामिण अल्ट्रासाउण्ड सेवा गाउँपालिकालाई सामुदायिक परिवार कल्याण संघले हस्तान्तरण गरेको हो । यो सेवा सञ्चालनसँगै अब जनकनन्दिनी गाउँपालिकाभित्रै गर्भ परीक्षणको सुविधा उपलब्ध हुने भएको छ, जसले गर्दा गर्भवती महिलालाई जनकपुर वा जयनगर जानुपर्ने झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ ।
परियोजनाको उद्देश्य मातृ तथा नवजात शिशु मृत्युदर घटाउने, स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार ल्याउने तथा समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउने रहेको छ। ग्रामिण अल्ट्रासाउण्ड सेवा गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्य चौकीमार्फत उपलब्ध गराइनेछ ।
कार्यक्रममा विभिन्न वडा अध्यक्षहरू, महिला स्वयंसेविका तथा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्तो सेवा गाउँमै सुरु हुनु गर्भवती महिला र नवजात शिशुहरूको जीवनरक्षाका लागि ठूलो कदम भएको बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !