जनकपुरधाम, वैशाख १२ गते । बाँसको उत्पादन, बजारीकरण र उपचारित बाँसको दिगोपनासहितको उपयोगिता बारे प्रदेशस्तरीय बहुसरोकारवालाबीच गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ ।
हैबिटेट फर ह्युमिन्टिज नेपालको सहकार्य, मधेश प्रदेश सरकारका वन तथा वातावरणको समन्वयमा सामुदायिक सुधार केन्द्र (सिआईसी) द्वारा आयोजनामा सो गोष्ठी सम्पन्न भएकाे हाे ।
गाेष्ठीमा बाँस खेतीको विकास प्रवद्र्धन सहित त्यसको बजारीकरण र उपचारित बाँसले बनेका संरचनाको दिगोपना लगायतका विषयमा सहभागीहरुलाई प्रशिक्षणद्वारा जानकारी गराइएको थियो ।

कार्यक्रममा चुरे उत्थानशील आयोजनाका बाँस विज्ञ डा. छोटेलाल चौधरीले बाँसको उत्पादन कसरी गर्ने, त्यसको संरक्षणसहित उपचारित बाँस कसरी तयार पार्ने तथा त्यसको दिगोपना बारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवप्रसाद घिमिरेले बाँस र महुवा लगायतका विलुप्त हुन लागेका रुख विरुवाको प्रजातिको संरक्षण तथा बजारीकरणका लागि ठोस निती ल्याउन जरुरी रहेको कुरामा जोड दिएका थिए ।

उनले भने हाम्रो देशमा कृषिको धेरै सम्भावना रहेको हुनाले बाँसको व्यवस्थित खेती र त्यसको बजारी गर्न पाए प्रदेश मात्रै होइन देशकै अर्थतन्त्रमा ठूलो सहयोग मिल्नेछ ।
कार्यक्रममा सहभागीहरुले बाँसको उत्पादकत्व बढाउन जनचेतना फैलाउने र त्यसको बजारीकरण बढाउन प्रदेश सरकारले कानूनी व्यवस्था गर्नुपर्ने माग गरेका थिए । यसका साथै सहभागीहरुले बाँसको बजारीकरणका लागि निती भन्दापनि प्रदेश सरकारको नियत सही गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
उनीहरुले प्रदेश सरकारले आफूले बनाउने पूर्वाधार लगायतका संरचना, जनता आवासका लागि बनाउने घरहरु लगायत अन्य संरचना र सामाग्रीमा बाँसको प्रयोग गरे भने त्यसको बजारीकरणका साथै उत्पादकत्वमा किसानहरु प्रोत्साहन भेटन सक्ने बताएका थिए ।

कार्यक्रममा विभिन्न गैर सरकारी संस्थासहित सरोकारवाला संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । हाल गणेशमान चारनाथ नगरपालिकामा गरीब विपन्नहरुका लागि उपचारित बाँसबाटै हैबिटेट र नगरपालिकाको सहयोगमा घर निर्माण गरिरहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !