जनकपुरधाम, वैशाख ४ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
श्री जानकी आँखा अस्पतालको आयोजना तथा वडा कार्यालयको समन्वयमा वडा कार्यालय नजिकै रहेको धर्मशालामा आयोजित उक्त शिविरमा १६२ जना आँखाका बिरामीहरूले स्वास्थ्य जाँच गराएका थिए । जाँच गराएका मध्ये ६० जनामा मोतियाबिन्दुको समस्या देखिएको छ र उनीहरूको शुक्रबार जानकी आँखा अस्पतालमै निशुल्क शल्यक्रिया गरिने जनाइएकाे छ ।
अन्य बिरामीहरूलाई समेत आवश्यक औषधि निःशुल्क रुपमा वितरण गरिएको वडा अध्यक्ष रामचन्द्र पजियारले जानकारी दिएका छन्। वडाध्यक्ष पजियारका अनुसार उक्त शिविर गरीब, विपन्न तथा ज्येष्ठ नागरिकहरूका लागि वरदान सावित भएको छ। “सामान्यतया आर्थिक हैसियत भएका व्यक्तिहरू अस्पतालमै सेवा लिन जान्छन् तर गरिब तथा वृद्धवृद्धालाई घरदैलोमै सेवा पाउँदा निकै खुसी लागेको देखियो,” उनले भने।
शिविरबाट सेवा लिएका स्थानीय बासिन्दाहरूले घरमै आँखा जाँचको सुविधा उपलब्ध गराएर आफूहरूलाई केवल उपचार मात्र नभई संसार हेर्ने अवसर दिएको भन्दै आयोजकहरूप्रति आभार व्यक्त गरेका छन्।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !