जनकपुरधाम, वैशाख १ गते । मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले एक योजनाको आफै शिलान्यस नगरी ज्येष्ट नागरिकबाट शिलान्यस गराई उदाहरणीय परिपाटीको अभ्यास थालेका छन् ।
कुनै कार्यक्रमको प्रमुख अतिथि बन्न, उद्घाटन तथा शिलान्यासको श्रेय लिन जनप्रतिनिधिहरुबीच एक आपसमा होडबाजी र मारामार गर्ने प्रक्रियालाई तोड्दै मन्त्री यादवले कुनै पनि योजनाको शिलान्यास आफै नगरी समाजसेवी तथा ज्येष्ठ नागरिकबाट गराउने परिपाटीको शुरुवात गरेका छन् ।
सोमवार नयाँ वर्षको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ स्थित कवर्ड हल नजिक निर्माण हुन लागेको डिलक्स सार्वजनिक शौचालयको शिलान्यास मन्त्री यादवले आफैं नगरी स्थानीय ज्येष्ठ नागरिक तथा समाजसेवी योगेन्द्र रायबाट गराएका हुन् । हिन्दू वैदिक विधिअनुसार पूजापाठसहित सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री यादवले आफ्नो स्थानबाट नै सम्मानजनक उपस्थित जनाउँदै शिलान्यासको कार्य रायमार्फत गराए ।

शिलान्यास आफैं नगरेको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री यादवले भने, “हामी जनप्रतिनिधिको प्रमुख कार्य नीतिगत योजना निर्माण र बजेट सुनिश्चितता गर्नु हो । काम जनताको हितको लागि हो भने त्यसमा श्रेय लिन होइन, सम्मानपूर्वक सहभागी गराउनु महत्त्वपूर्ण हुन्छ । ज्येष्ठ नागरिकमार्फत शिलान्यास गराउनु भनेको उहाँबाट आशिर्वाद प्राप्त र विकास निर्माण स्थानीयको सहभागिता गराउन गराइएको हो । नागरिकको सहभािगता मात्र नभई उहाँहरुलाई हाम्रै काम हो भन्ने दायित्व र जिम्मेवारी बोध गराउन उद्देश्य सहित हरेक नागरिकलाई सम्मान गर्न उहाँबाट नै शिलान्यस र उद्घाटन गराउने परिपाटी बसाल्न ज्येष्ठ नागरिकबाट आज शिलान्यस गराइएको उनले बताए ।
मन्त्री यादवले थप्दै भने, “बजारमा किनमेल गर्न आउने सर्वसाधारण, कवर्ड हलमा खेल हेर्न आउने दर्शक तथा मणि मण्डपमा दर्शन तथा विश्राम गर्न आउने श्रद्धालुहरुलाई शौचालयको निकै अभाव रहेको आवश्यकताको दृष्टिगत गरी मधेश सरकारले प्राथमिकताको आधारमा यहाँ डिलक्स शौचालय निर्माण गर्न लागिएको हो ।

मन्त्री यादवको यो कदमलाई स्थानीय बासिन्दाले उदाहरणीय बताउँदै अन्य नेताहरुलाई पनि यस्तै कार्यशैली अपनाउन आग्रह गरेका छन् । शिलान्यासको अवसरमा प्रतिक्रिया दिँदै समाजसेवी रायले भने, “यो मेरो लागि गर्वको विषय हो । मन्त्रीज्यूले मबाट यो कार्य गराउनु उहाँको उदार दृष्टिकोण हो । यो कार्य अन्य जनप्रतिनिधिका लागि पनि सिक्ने अवसर हो ।”
कार्यक्रमका अध्यक्षता गरेका वडाध्यक्ष जीतबहादुर राउतले यो सार्वजनिक शौचालयको निर्माणले यहाँको विकासमा ठूलो योग्दान पुगेको बताए । उनले भने यहाँ बजार गर्न आउने स्थानीय, खेल हेर्न आउने दर्शक र मणि मण्डपमा दर्शन गर्न आउने श्रद्धालुलाई शौचालय कहाँ गर्न जाने भन्ने निकै समस्या हुन्थ्यो । त्यसले जताततै फोहर समेत हुने गरेको थियो । तर अब यो शौचालय निर्माणले धेरै ठूलो समस्याको समाधान हुन्छ ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको बजेटबाट करिब ३० लाख रुपैयाँको लागतमा बन्न लागेको उक्त सार्वजनिक शौचालयमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै छ–छ वटा शौचालय, दुईवटा पिशाब घर, र दुईवटा स्नानगृह रहने जानकारी समेत उनले दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !