जनकपुरधाम, चैत ३१ गते । मधेश प्रदेशसभाको चौथो अधिवेशन आरोप प्रत्यारोपमै सम्पन्न भएको छ । मन्त्रीहरु योजना खरीद बिक्री गरेको, मुख्यमन्त्रीले मर्यादा उल्लंघन र मनपरी गर्ने गरेको लगायतका आरोप प्रत्यारोपमै सत्तारुढ र प्रतिपक्षीको आरोप प्रत्यारोपमै चौथो अधिवेशन बित्यो ।
गत पुस २३ गते शुरु भएको प्रदेश सभाको चौथो अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले चैत ३० गते मध्यराति बाट अन्त्य भएको घोषणा गरेको हो । प्रदेशसभाको ९७ दिनको चौथो अधिवेशन अवधीमा २३ वटा बैठक सम्पन्न भएको छ । जसमा ३ वटा विधेयक पारित भएको छ भने ४ वटा विधेयक समितिमा पठाएको हो ।

प्रदेश बाल अधिकार ऐन २०७९ पहिलो संशोधन, प्रदेश कृषि विकास विधेयक २०८० र मधेश पर्यटनको विकास र प्रवर्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो । चौथो अधिवेशन शुरु भए लगतै प्रदेश सरकारले सभामा दर्ता गराएको प्रदेशको कामकाजी भाषा सम्बन्धि विधयेक सबै भन्दा बढी विवादित हुन पुग्यो । विवाद यति सम्म बढयो की अन्ततः प्रदेश सरकारलाई उक्त विधेयक नै फिर्ता लिनु पर्यो ।
थप तीन वटा विधेयक संसदमा प्रवेश पाएको छ । तर ई विधेयकहरु प्रदेशसभाको आरोप प्रत्यारोप बीच ओझेलमा परेको छ । चौथो अविधेशन मुख्यरुपमा योजनाको चिठ्ठी खरिद विक्री, मुख्यमन्त्रीको भारत भ्रमण लगायतको विषयले सबैको ध्यान केन्द्रित गर्न पुग्यो । यस विषयमा प्रदेश सभाले छानविन समिति गठन गर्ने निर्णय नै गरि सकेको छ ।
ऐन कानूनको निर्माणमा केन्द्रित हुनु पर्नेमा प्रदेश सभा सरकार र संसदबीचको जुहारी केन्द्रमा परिणत हुँदा प्रदेश सभा आफनो मुल दायित्व बाट पन्छिएको गुनासो प्रदेश सभा सदस्यहरुले नै गर्न थालेका छन । योजनाको विषयमा प्रदेश सभा सदस्यहरुले सरकारलाई घेर्न थालेपछि हतारमा प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको एकजना प्रदेश सभा सदस्यले बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !