जनकपुरधाम, चैत २५ गते । मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले मधेश प्रदेश कृषि क्षेत्र रहेकाले प्रदेश सरकारले सिचाईतर्फ बढी ध्यान केन्द्रित राखेको बताए ।
सोमवार धनुषाको कंचनवनमा गजरिया विघी सिचाई आयोजनामा मनाइएको सिचाई दिवस २०८१ कार्यक्रममा बोल्दै उनले संघीय सरकारको मधेशप्रतिको विभेद नितीको कारण यहाँ सिचाई समस्या व्याप्त रहेको बताए ।
उनले सिचाई समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको बताउंदै प्रदेश सरकारले न्यून बजेटमा पनि सकेसम्म सिचाईको क्षेत्रमा स साना आयोजना संचालन र मरम्मत सम्भारको कार्य गर्दै आइरहेको भने । मन्त्री यादवले सो सिचाई आयोजनाको मरम्मत सम्भार कार्य यसै सातादेखि शुरु गराउने प्रतिबद्धता जनाए ।
मन्त्री यादवले यस क्षेत्रको सिचाई समाधान गर्न गौरवको आयोजना दूधमति नदी उकास तथा विकास परियोजना ल्याउन गइरहेको बताउंदै सो परियोजना सफल भए यस क्षेत्रमा हजारौ किसानहरुलाई सिचाईको समस्या समाधान हुने बताए । यसका साथै आर्थिक विकासका लागि सो नदीको सौन्दर्यकरण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको जानकारी दिए ।
उनले पानीको महत्त्व बुझेर त्यसको बचत गर्न किसानहरुलाई आग्रह समेत गरे । उनले भने, “पानीको सतह तल झर्दै गएको छ, त्यसैले पानीको संरक्षण र सम्भारका लागि स–साना ड्याम र नहरको मर्मत कार्यमा किसानहरूले सक्रियता देखाउनुपर्छ ।“

कार्यक्रमका प्रमुख अतिथि पूर्व संघीय खानेपानी मन्त्री महेन्द्र यादवले धनुषालाई बासमति चामल उत्पादनको पकेट क्षेत्र बनाउन किसानहरुसंग आग्रह गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री यादवले संसारभरि नै अहिले बासमति चामलको माग बढिरहेको रहेको छ । र यो महंगो भएको कारण राम्रो आर्थिक आम्दानी गर्न सकिने भएकाले यस धनुषा जिल्लालाई बासमति चामलको पकेट क्षेत्र नै बनाउन भने ।
गजरिया विघी उपभोक्ता सिचाई आयोजनाका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, मन्त्रालयका सचिव रामकुमार खंग र प्रदेश सभा सदस्य कुमरकान्त झाले सिचाई क्षेत्रमा भएका समस्या र प्रदेश सरकारले गर्दै समाधान बारे कुरा राखेका थिए ।

जिल्लाको लक्ष्मिनिया गाउँपालिका ३ कंचनवन स्थित गजरिया विघी उपभोक्ता सिचाई आयोजनामा मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले किसानहरुको सहभागितामा सो दिवस मनाएको हो । कार्यक्रमको मुख्य आकर्षण नहरको मरम्मत सम्भारको सांकेतिक उद्घाटन थियो, जसमा प्रमुख तथा विशिष्ट अतिथिहरूले कोदालो चलाएर नहरको मर्मत सम्भार कार्यको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व खानेपानी मन्त्री तथा कांग्रेसका सहसचिव महेन्द्र यादव, प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव, प्रदेश सभा सदस्य कुमरकान्त झा, मन्त्रालयका सचिव रामकुमार खंग लगायतका प्रमुख नेता र कमर्चारी लगायतका सो क्षेत्रका दर्जनौ किसानहरुको सहभागिता थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !