जनकपुरधाम, फागुन १८ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मैथिली विकास कोषद्वारा पाँच दिने प्रादेशिक ललितकला प्रदर्शनी आयोजना हुने भएको छ ।
मैथिली कला, संस्कृति तथा चित्रकला प्रवद्र्धन गर्ने उद्देश्यले फागुन २० गतेदेखि २४ गतेसम्म आयोजना हुन लागेको हो । प्रदर्शनीको उद्घाटन फागुन २० गते बिहान ११ बजे मैथिली विकास कोष भवन जनकपुरधाममा हुनेछ ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह प्रमुख अतिथि रहने मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।
प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको आयोजनामा सम्पन्न हुँदैछ भने जनकपुरधाम उपमहानगरपालिका तथा नेपाल टुरिज्म बोर्डको सहकार्य रहेको छ । यस प्रदर्शनीमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूले आफ्नो उत्कृष्ट कलाकृति प्रदर्शन गर्नेछन् ।
मिथिला चित्रकलाका चर्चित हस्तिहरूको समेत उपस्थित रहने बताइएको छ । प्रदर्शनीमा चित्रकला, मूर्तिकला तथा अन्य दृश्यात्मक कलाका माध्यमबाट स्थानीय संस्कृतिको झलक देखिनेछ । मैथिली कला तथा संस्कृतिको समृद्धि एवं संरक्षणका लागि यो प्रदर्शनी अत्यन्त महत्त्वपूर्ण हुने आयोजकको दाबी छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरूका अनुसार यो कार्यक्रमले युवा तथा नवकलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न तथा कला क्षेत्रमा अवसर प्राप्त गर्न मद्दत गर्नेछ । नेपाल टुरिज्म बोर्डको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
मिथिला कला र संस्कृतिप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षण बढाउने उद्देश्यले कार्यक्रमको व्यापक प्रचार–प्रसार गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मैथिली विकास कोष तथा जनकपुरधाम उपमहानगरपालिकाले सम्पूर्ण कला प्रेमी, विद्यार्थी, अनुसन्धानकर्ता तथा स्थानीयलाई प्रदर्शनीमा सहभागी हुन आयोजकले आह्वान गरेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !