जनकपुरधाम, फागुन १८ गते । मिथिला माध्यमिकी परिक्रमालाई महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले भव्य स्वागत गरेका छन् ।
परिक्रमाको चौथो दिन आइतवार मटिहानी पुगेका परिक्रमा टोलीलाई स्वागत गर्दै मेयर मण्डल, ’डोला’ सँगै यात्रा गरेका छन् । टोलीमा सहभागी यात्रिहरू मटिहानीमा विश्राम गर्नेछन् । मटिहानीमा डोला ल्याउने परम्परा मिथिला क्षेत्रमा निकै पुरानो र प्रतिष्ठित मानिन्छ । यहाँ परिक्रमा यात्राको चौथो दिनको रात्रिबास परम्परा कायम रहँदै आएको छ ।
मटिहानी महोत्तरी जिल्लामा परिक्रमा प्रवेश गर्ने प्रमुख स्थलको रूपमा रहेको छ । परिक्रमा यात्राका सहभागीहरूलाई स्वागत गर्न र मेलामा सहभागी हुनको लागि मटिहानी नगरपालिकाले आज सार्वजनिक बिदा घोषणा गरेको छ । सो अवसरमा मटिहानी र अन्य प्रमुख स्थलहरूमा आकर्षक मेला र परिक्रमा कार्यक्रमहरूको आयोजना गरिएको छ ।

नगर प्रमुख हरिप्रसाद मण्डलका अनुसार मिथिला माध्यमिकी परिक्रमाको महत्व र यसका सांस्कृतिक पहलूलाई मध्यनजर गर्दै नगरपालिकाले मेला र यात्राका अवसरमा सबैलाई सहभागी हुन आह्वान गर्दै सार्वजनिक बिदा दिएको हो ।
परिक्रमा यात्राका सहभागीहरूले मटिहानीसहित जिल्लाका विभिन्न स्थानहरूमा पाँच रात बिताउने परम्परा रहेको छ । मटिहानीमा परिक्रमा यात्राको चौथो, जलेश्वरमा पाँचौँ, मडैमा छैटौँ, ध्रुवकुण्डमा सातौँ र कञ्चनवनमा आठौँ दिन विश्राम गर्ने परम्परा रहेको छ ।
यो परम्परा महोत्तरी जिल्लाका अन्य चार स्थानीय तहहरू जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भङ्गाहा नगरपालिकाद्वारा पनि मनाइन्छ । त्यहाँ पनि परिक्रमा र मेलाका दिन सार्वजनिक बिदा दिइन्छ । यस प्रकारका बिदा, सांस्कृतिक पर्व र मेलाका अवसरमा नागरिकहरूलाई यात्रा र धार्मिक अवसरहरूमा सहभागिता जनाउन उत्साहित गर्ने उद्देश्यले दिइन्छ ।

मिथिला माध्यमिकी परिक्रमा न केवल धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण छ । यसले स्थानीय जनजीवनमा पनि सकारात्मक प्रभाव पार्छ । यस आयोजनाले विभिन्न स्थानहरूको धार्मिक महत्त्वलाई पुनः प्रतिष्ठित गरिरहेको छ भने समुदायमा एकताको भावना पनि बढाउँछ ।
धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागरस्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा बिहिवारबाट प्रारम्भ भएको थियो।परिक्रमामा नेपालको धार्मिक ऐतिहासिक ठाउँहरूको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको यात्रा गरिन्छ । यसलाई मिथिला माध्यमिकी परिक्रमा भन्ने गरिन्छ ।
जानकारहरूका अनुसार करिब सन् १७९३ तिर साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमा प्रारम्भ गरिएको थियो। सो समयमा वन जंगल घना रहेको र साधुसन्तहरू वनमा आश्रम राखेर बस्ने गरेका थिए । बाघ‚ भालुजस्ता जंगली जनावरले साधुसन्तमाथि आक्रमण गर्ने र दुःख दिने गरेकाले त्यस्ता जनावरबाट सुरक्षाका लागि परिक्रमाको थालनी गरिएको जनविश्वास रहेको छ ।

सन् १७९३ बाट शुरु भएको पाँचदिने मिथिला माध्यमिकी परिक्रमासन् १८३१ र सन् १८७० हुँदै सन् १८९५ मा कमलशरण दासले मठाधीशको अधिकार प्राप्त गरेपछि उनले सन् १८९५ देखि १५ दिने मिथिला अन्तगृह परिक्रमा यात्रा आरम्भ गराएको बताइन्छ । त्यसपछि आज पर्यन्त यही क्रम जारी रहेको जानकारहरू बताउँछ्न् ।
त्यति बेला जनकपुरधामका ५२ कुट्टीका ५२ सन्त र ३ जना सुसारे गरि ५५ जना सन्तबाट शुरु भएको माध्यमिकी परिक्रमामा अहिले हजारौं सहभागी हुने पत्रकार नवल यादवले बताए । यसैकारण मिथिलाको राजधानी जनकपुरधाम ‘५२ कुट्टी ७२ कुण्ड’का नामले पनि प्रख्यात भएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !