जनकपुरधाम, फागुन १८ गते । कर्मचारीको आभाव भएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव कुमार साहले नगरपालिकाका साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझएका छन् ।
मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको अभावले गर्दा लामो समयदेखि कार्यसम्पादनमा कठिनाई भइरहेको भन्दै समस्या समाधान गर्न भन्दै साहसहितका जनप्रतिनिधिहरूले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएको हो ।
भंगहा नगरपालिका प्रशासनको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी माघ ९ गतेदेखि फागुन ४ गतेसम्म समान्य प्रशासन मन्त्रालयले विभिन्न व्यक्ति सुम्पिएको थियो । पहिलो चरणमा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी विजयकुमार यादवलाई दिइएको थियो । पछि वरिष्ठताको आधारमा रामसागर यादवलाई सुम्पिएको थियो ।
तर, फागुन ४ गते समान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि निमित्तको जिम्मेवारी रामसागर यादवले गुमाएका थिए । यद्यपि, मेयर सञ्जीवकुमार साहका अनुसार आजसम्म होमप्रसाद घिमिरे नगरपालिकामा आएर कार्यभार ग्रहण गरेका छैनन् ।
सो समस्याले भंगहा नगरपालिकाका विकासे कामहरू ठप्प बनेको छ । मेयर साहका अनुसार टेन्डर आह्वान गर्न नसकेका कारण नगरपालिकाको समग्र कार्य प्रभावित भएको छ । यी समस्याहरू समाधानका लागि उनले तीन दिनसम्म समान्य प्रशासन मन्त्रालय पुगेर गुनासो गरे पनि मन्त्रीले भेट्न समय नदिएको बताएका छन् । अन्ततः, मेयर साह र अन्य जनप्रतिनिधिहरूले तालाबन्दी गरेर प्रमुख जिल्ला अधिकारीलाई साँचो बुझाउने निर्णय लिएका हुन् ।
मेयर साहले भने, ‘प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिका कार्यक्षेत्रमा अवरोध आएको छ । यसले जनताको विकास र सेवामा प्रतिकूल प्रभाव पारिरहेको छ । यसलाई तत्काल समाधान नगरे समस्या थप जटिल हुँदै जानेछ ।’
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !