जनकपुरधाम, फागुन १५ गते । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको मधेश प्रदेशस्थित शाखा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ ।
बिहीवार बेलुका शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले प्रतिष्ठानलाई केन्द्रको जनकपुरधाम शाखा अस्पताल भवन, उपकरण र जनशक्ति समेत हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण पत्रमा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. मल्ल, प्रवक्ता सुधिरचन्द्र दाहाल, जनकपुरधाम शाखा इन्चार्ज डा. राजेश साह र प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. अंकुर साह, रजिष्टार डा. विनोद यादव तथा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन सिंहले हस्ताक्षर गरेका छन् ।
अस्पतालका सम्पूर्ण सेवा यथावतै राख्दै प्रतिष्ठानको निती नियम अनुसार संचालन गरिने र केन्द्रमा कार्यरत कर्मचारीहरुलाई प्रतिष्ठानको निती नियम सेवा सुविधा दिने सम्झौता भएको बुझिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहेको बेला २०७६ साल साउन ९ गतेका दिन उद्घाटन गरी राजधानी बाहिर केन्द्रको पहिलो शाखाको रुपमा संचालनमा ल्याइएको थियो ।
तात्कालिन जनकपुर अंचल अस्पताल हालको प्रादेशिक अस्पतालसँग गरिएको सम्झौता अनुसार संचालनको ५ वर्षपछि हस्तान्तरण गर्ने शर्तमा सो हृदय केन्द्र अस्पताल संचालनमा ल्याइएको थियो भने सोही सम्झौता अनुसार हस्तान्तरण पनि गरिएको हो । तर त्यो सम्झौतामा कार्यरत कर्मचारी हस्तान्तरण गर्ने भन्ने कुरा उल्लेख गरिएको थिएन ।
केन्द्रका कार्यकारी निर्देशक डा. मल्लले विगतका सम्झौता अनुसार नै हाम्रो जनकपुरधाम शाखा प्रतिष्ठानलाई हस्तान्तरण गरेका हौं । कुनैपनि कर्मचारीसँग अन्याय हुँदैन, कसैलाई हटाइदैन र उनीहरुलाई कार्यरत पदमै यथावत राखिनेछ । जहाँसम्म तिनीहरुको सेवा सुविधाको कुरा हो त्यो त प्रतिष्ठान अन्तर्गत गएपछि प्रतिष्ठानले नै व्यवस्था गर्नेछ ।
त्यस्तै प्रतिष्ठानका रजिष्टार डा. यादवले केन्द्र प्रतिष्ठानमा आएपछि अझ गुणस्तरीय सेवा प्रदान गरिनेछ । जहाँसम्म कर्मचारीहरुको कुरा हो, कसैलाई अलपत्र छाडिएको अस्पतालसँगै तिनीहरु पनि समायोजन भएको हो । जहाँसम्म सेवा सुविधाको कुरा हो त्यो त प्रतिष्ठानको निती नियम अनुसार तहगत अनुसार नै दिइनेछ । कसैसँग काखापाखा गरिदैन ।
प्रतिष्ठानलाई केन्द्र हस्तान्तरण गरिएकोमा केन्द्रमा कार्यरत कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरु आफूलाई प्रतिष्ठानको होइन केन्द्रले दिदैं आएको सेवा सुविधा दिनुपर्ने माग राखेका छन् । नाम नबताउने शर्तमा एक कर्मचारीले भने केन्द्रले दिदैं आएको सेवा सुविधा र प्रतिष्ठानले दिने सेवा सुविधामा आकाश पातालको अन्तर छ । हामीहरुलाई केन्द्रले नै दिदैं आएको सेवा सुविधा दिनुपर्छ । नत्र आफूहरुको आन्दोलन जारी नै रहनेछ ।
केही दिन यतादेखि केन्द्रमा कार्यरत कर्मचारीहरुले यी मागहरु राख्दै आन्दोलनरत रहेका थिए । कर्मचारीहरूले आफ्नो अधिकार रक्षा गर्न तथा अन्यायपूर्ण निर्णय गरिएको भनी आन्दोलन गर्दै अस्पताल अगाडि नै विरोधमा उत्रेका थिए । उनीहरूले उक्त समायोजन प्रक्रिया निष्पक्ष नरहेको र बिना कुनै परामर्शकै जबरजस्ती लागू गर्न खोजिएको आरोप लगाएका छन् ।
कर्मचारीहरूका अनुसार समायोजन प्रक्रिया पारदर्शी छैन र यसले उनीहरूको हक र अधिकारमाथि अतिक्रमण गरेको छ । उनीहरू भन्छन्, ‘समायोजनको निर्णयमा हाम्रो कुनै संलग्नता छैन । यो हाम्रो सेवासँग मात्र सीमित छैन सेवाका गुणस्तरमा गिरावट आउन सक्ने र बिरामीहरूले समयमा उपचार नपाउने सम्भावना रहेकाले जनकपुरधामवासीका लागि समेत ठूलो असर पार्ने विषय हो ।’
उनीहरूले विरोध कार्यक्रमलाई ऐक्यबद्धता जनाउन सबै पक्षसँग सहयोगको अपिल गरेका छन् । कर्मचारीहरूले भनेका छन्, ‘हाम्रो मागहरू पूरा नहुन्जेलसम्म हामी शान्तिपूर्ण विरोध जारी राख्नेछौं । यदि सरकार हाम्रो जायज मागप्रति गम्भीर भएन भने आन्दोलनका थप कार्यक्रमहरू अघि बढाउने हस्तान्तरण अघिसम्म आन्दोलनको क्रममा बताएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !