जनकपुरधाम, फागुन १२ गते । धनुषाको धनुषाधाम नगरपालिकामा सोमवारदेखि पुनः बर्थिङ सेन्टर तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालना आएको छ । सो सेवाले नगर भित्रका गर्भवती महिलालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधाममा आयोजित एक कार्यक्रममा नगरपालिकाले डेलिभरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुका साथै बर्थिङ सेन्टरको पुनः सञ्चालनको घोषणा गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अरुण मण्डलले यस सेवाले गर्भवती महिलाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
सोमवार एक कार्यक्रम आयोजना गरी सेवाको शुभारम्भ गरिएको हो । उक्त कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, उपमेयर विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत सञ्जित प्रसाद दास, वडा अध्यक्षहरू जयनारायण यादव, मनोज कुमार यादव र स्वास्थ्य शाखा प्रमुख हरिनारायण महतो, महिला स्वयंसेविका तथा पालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
नगर प्रमुख मण्डलले नगरपालिकाले नागरिकहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएको बताउँदै आगामी दिनमा थप स्वास्थ्य सुविधाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले विशेष गरी मातृ तथा शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र सेवाको सुलभ पहुँच अभिवृद्धि गर्न धनुषाधाम नगरपालिकाले विभिन्न योजनाहरू अघि बढाइरहेको छ । नगरपालिकाले गर्भवती महिलाहरूका लागि यो नयाँ पहल स्वागतयोग्य रहेको र यसको उचित सदुपयोग गर्नेछौ स्थानीयहरुले बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !