जनकपुरधाम, फागुन २ गते । धनुषाको हंसपुर नगरपालिकास्थित बघचौडा गाउंमा जलकी देवी कमला माईको पूजा विशेष श्रद्धा र आस्थाका साथ भव्य रूपमा मनाइदैछ ।
प्रत्येक वर्ष माघ—फागुन महिनामा नेपाल भारतका मल्लाह जातिले आफ्ना कुलदेवी रहेकाे भनी कमला माईको पूजा अराधना गर्दै आएका छन् । सो क्रममा हंसपुर नगरपालिका वडा नम्बर २ र ३ बघचौडा निवासी मल्लाह जातिका व्यक्तिहरुले नगरपालिका कार्यालय अगाडि रहेका अरहरी खोलाको तटमा विशेष धूमधामका साथ कमला माईको पूजापाठ गरेका छन् ।
कमला माई पूजा समितिद्वारा आयोजित सो पूजामा वडा निवासी मल्लाह जातिका करीब एकसय घरपरिवार सहित भाकल गरेका बघचौडा लगायत वरपर गाउँका अन्य जातिका हजारौ श्रद्धालुहरूले सो पूजामा सहभागिता जनाएका छन् । सो पूजामा कमलामाईलाई भाकल भएकाहरुले सलामी दिएका छन भने कमलामाई उपासकहरूले महराई गाउनुको साथै देवता समेत खेलाएका छन् ।
मल्लाह समुदायका सदस्यहरू माछा पालन, माछा सिकार र माछा व्यवसायमा संलग्न छन् र आफ्नो जीवनयापनका लागि यी क्रियाकलापहरूमा निर्भर छन् । जलकी देवी कमला माई भएका कारण आफ्नो पुर्खादेखि नै अहिलेसम्म कमला माईको पूजा वर्षेणी गर्दै आएका समितिका सल्लाहकार निर्गुण सहनीले बताए छन् ।

उनले भने यो हाम्रो हिन्दु धर्मसहित जातिय संस्कृतिको उत्थानका लागि पनि परम्परादेखि कमला माईको पूजा गर्दै आएका छौं । मल्लाह जातिको कूल देवी भएपनि भाकल गरेका व्यक्तिहरु सहित बघचौडा लगायत वरपर गाउँका व्यक्तिहरुले सहभागिता जनाएका छन ।
कमला माईको पूजाको अवसरमा, मल्लाह समुदायका सदस्यहरू फलफूल, प्रसाद, मिठाई, तसमै (खीर) र पशुपक्षीको बलि चढाएर पूजा गर्छन् । साथै मिथिलाञ्चलको माघे प्रसाद भनिने चिनीको लड्डु पनि चढाएका छन ।
साहित्यकार एवं मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष स्थानीय रामभरोस कापडिले भन्छन् — जीवनयापनसँग जोडिएका कारण प्राचीनकालदेखि कमला नदीको देवी अर्थात कमला माताको पूजा गरिदै आएको छ, चाहे राजा सलहेशको पाला होस वा दिनाभद्रीको हरेक समयमा गरिएको हो ।

कमला माईलाई जीवनयापनको दृष्टिकोणले चाहे त्यो मल्लाह जातिको माछा मार्ने पेशासँग होस वा कृषिको सिचाईका लागि पानीको पूर्ति गर्दै आएको जनविश्वासले पूजा गरिदैं आएको हो । यो जातिय पूजा भएपनि यसले संस्कृतिको जर्गेना गर्दै आएको छ । मल्लाह जातिले किन मनाउंछ भन्ने कुरा उहाँहरुको जीवनयापनको जातिय पेशा माछा मार्नेमा नदी तलाउमा रक्षा गर्ने जनविश्वासले आफ्नो कूल देवी भनेर गर्दै आएको हो ।
समितिका अर्का सल्लाहकार राजेन्द्र सहनीले हामी मल्लाह जातिलाई कमला माईले पेशा कर्म जलमा माछा मार्न जाँदा रक्षा गर्नु हुन्छ । त्यसैले पुर्खैदेखि हाम्रो कुलदेवीको रुपमा पूजित छन् ।
यो पूजामा कमला माईका साथै कोइलावीर, दयालसिंह र शिवधर पजियारलाई समेत पूजापाठ गरिन्छ । चारैजना देवी देवतालाई प्रसाद संगै खसीको बली पनि दिने गरिएको बताए ।
कमला माईको पूजा मल्लाह समुदायका लागि एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक परम्परा हो, जसले उनीहरूको सामाजिक एकता र आस्थालाई प्रगाढ बनाउने गरेको उनको भनाई छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !